‘बिना गल्ती कतारको पुलिसले पक्रेर चप्पलमा नेपाल पठाइदियो’

बिनेश खनाल
४ चैत २०७६ १९:२३

काठमाडौँ । कतारको औधोगिक क्षेत्र सनैयामा बस्ने गोरखाका सुकपाल गुरुङ बिहीबारको रात्रिकालीन डिउटी सकाएर सुतेका थिए । शुक्रबार कतारको सार्वजानिक बिदा । रातभर डिउटी गरेको हुनाले उनको बिदाको दिन कतै बाहिर निस्कने योजना थिएन ।

शुक्रबार दिउँसा साढे २ बजेको कुरा हो । उनका एकजना साथीले किनमेलको लागि अलअत्तिया बजार जाउँ भनेर अनुरोध गरे । सुकपालले किनमेल गर्नलाई त्यस्तो खासै केही थिएन । उनले त्यसको केही दिनअघि मात्रै घरमा पैसा पठाएका थिए । साथीले अनुरोध गरेपछि उनले पनि एउटा पुरानो पाइण्ट किन्ने सोँच बनाउँदै आफूसँग भएको १० रियल साथमा लिएर कचरा मार्केटतिर लागे । ‘सेलरी आएपछि नेपाल पठाइसकेको थिएँ । किन्नुपर्ने त्यस्तो खासै त केही थिएन, उनले भने ‘ कचरा मार्केटमा ५ रियलमा सेकेण्ड ह्याण्ड पाइण्ट पाउँछ भन्ने सुनेको थिएँ । साथीले जाउँ भनेपछि मलाई पनि किन्न मन लागेर त्यहाँ जाँदै थिएँ । ’

अलअत्तिया बजार जसलाई गैरकानुनी बजार भनेर चिनिन्छ। गैरकानुनी बजार भनिएता पनि यहाँ व्यापारीहरुले खुल्ला रुपमै विभिन्न व्यवसायहरु गर्दै आएका छन् । बेलावखत प्रहरीले छापा हानेर त्यहाँ किनबेच गर्ने व्यक्तिहरुलाई पक्राउ गरेपनि यो मार्केटलाई पूर्णरुपमा बन्द गराउन सकेको छैन ।

५ रियलको पुरानो पाइण्ट किन्न त्यही कचरा मार्केट हिँडेका सुकपाल त्यो मार्केट सम्म पुग्न भने पाएनन् । सोही कम्पनीमा काम गर्ने अन्य ३ जनाको साथमा गएका सुकपाललाई मार्केट नजिकै पुग्नैलाग्दा कतार प्रहरीले एक्कासी घेरा हाल्यो । प्रहरीले सुकपाल सहित साथमा गएका अर्का एक जना साथी डिल बहादुर पराजुलीलाई समातेर गाडीमा कोच्यो । अरबिक भाषामा प्रहरीहरु बोलिरहेका थिए । उनले आफू समात्निुको कारण त्यो बेला बुझन्न सकेनन् । ‘मार्केट पुग्नै लागेका थियौँ । एक्कासी पुलिसले घेरा हालेर समात्यो । अनि तान्दै गाडीमा बस्न लगाएर हातमा हत्कडी लगाइदियो,’ उनले सुनाए । अन्य दुई जना भने उनीहरुलाई समातेर भ्यानमा हाल्दै गर्दा प्रहरीको आँखा छलेर भागेका थिए ।

प्रहरीले गाडिमा बसाएर उनलाई सनैयाको २ नम्बरस्थित डिपोर्टटेसन सेन्टर (सफर जेल) मा लगेर राखिदियो । त्यहाँ पुग्दासम्म उनलाई थाहा भएन आफू पक्राउ पर्नुको कारण । सफर जेलमा उनी जस्तै थुप्रै नेपालीसहित अन्य देशका नागरिकहरुलाई जम्मा पारिंदै थियो । उनीहरुलाई २ दिनसम्म त्यहीँ जेल भित्र राखिएको थियो ।

आइतबार साँझ उनीसहित २ सय ५० जना नेपालीलाई कतारले डिपोर्ट गरि नेपाल फर्काइदिएको छ । उनीहरुलाई सरकारको निर्देशन उल्घंन गरेको भन्दै नेपाल फकाइएको हो ।

कतारमा कोरोनाले उग्ररुप लिन थालेको छ। कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न भन्दै सनैया एरियाका कामदारहरुलाई कतार सरकारले बाहिर नहिंडन भनेको थियो । तर, समयमै सूचना नहुँदा सुकपालसहित २ सय ५० जना नेपालीले आफ्नो रोजगारी गुमाएका छन् ।

सुकपाल चप्पल लगाएर मार्केट गएका थिए । उनी सोही चप्पलमै नेपाल आएका हुन् । ‘मलाई थाहा थिएन बाहिर हिंडन रोक लगाएको छ भन्ने कुरा । हामीलाई कसैले भनेको पनि थिएन । सूचना पनि कतै आएको देखेको थिएन, नेपाल फर्केका सुकपालले भने ‘ बिना गल्ती कतारको पुलिसले पक्रेर चप्पलमा नेपाल पठाइदियो।’

‘मलाई सरकारले बाहिर हिंडन् रोक लगाएको भन्ने थाहा भएको भए सरकारी निकायको निर्देशन किन पो उल्घंन गर्ने थिएँ र ? उनले थपे‘सरकारी निकाय र कम्पनीले राम्रोसँग सूचना नदिँदा ठूलै नराम्रो काम गरे जस्तो गरि नेपाल पठाइयो । बिना गल्ती सजाय भोगियो ।’

सुकपाल कतारमा नेपालीले नै सञ्चालन गरेको एक कम्पनीमा स्काफोल्डरको काम गर्छन् । उनका अनुसार कम्पनीबाट डेढ महिनाको तलब करिब १७ सय कतारी रियल पाउन बाँकी छ । उनले काठमाडौँ ओर्लिएपछि आफ्नो कम्पनी मालिकलाई फोन गरेर आफ्न्नो बाँकी रहेको तलब पठाइदिन अनुरोध गरेका छन् ।




प्रतिक्रिया

One thought on “‘बिना गल्ती कतारको पुलिसले पक्रेर चप्पलमा नेपाल पठाइदियो’

  1. नियम त मान्न पर्यो नि… रह्यो कुरा कचरा मार्केटको यो सरासर गैरकानुनि हो त्यहाँ सामान किन्न जाने र बेच्ने दुबै गैरकानुनि काम हो कतार मा…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *