भारतमा कोरोनाबाट मङ्गलबार बिहानसम्म ११४ को मृत्यु

डिसी नेपाल
२५ चैत २०७६ १२:३३

नयाँ दिल्ली। भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ। मङ्गलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११४ पुगेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ।

त्यसैगरी मङ्गलबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ४२१ जना पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ।

कोरोना भाइरस सङ्क्रमण रहेका चार हजार ४२१ जनामा ३२५ जना भने उपचार गरी घर फर्र्किएका छन्। हाल ३ हजार ९८१ जना अस्पताल र केही आफ्नो घरमा नै निगरानीमा रही उपचार गराइरहेका सो मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ।

भारतमा विस्तारै यसको प्रकोप बढ्न थालेको महसुश गरिएको छ। भारतका अरु राज्यको तुलनामा महाराष्ट्र, तामिल नाडु र नयाँ दिल्लीमा यसका सङ्क्रमितहरु बढेको देखिएको छ। महाराष्ट्रमा ७४८, तामिल नाडुमा ६२१ र नयाँ दिल्लीमा ५२३ मा सो रोगका सङ्क्रमितहरु रहेका उक्त मन्त्रालयले जनाएको छ।

भारतमा दुई हप्तायतादेखि देशैभर लकडाउनको घोषणा गरिएको छ। जसका कारण त्यहाँको जनजीवन निकै प्रभावित भएको बताइएको छ। तर यता दिन प्रतिदिन नयाँ सङ्क्रमितहरु थपिँदै जान थालेपछि भने यो लकडाउनको अवधि पनि थप लम्ब्याउन सकिने देखिएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *