बाढी प्रभावितका लागि तनाव व्यवस्थापन शिविर सञ्चालन

डिसी नेपाल
६ असोज २०८३ २१:५९

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितका लागि निःशुल्क तनाव व्यवस्थापन शिविर सञ्चालन गरिएको छ।

नेपाल अकुपञ्चर मोक्सिबुसन तथा अकुप्रेसर सङ्घले रसुवा र नुवाकोटका बाढी प्रभावित नागरिकका लागि निःशुल्क तनाव व्यवस्थापन तालिम सञ्चालन गरेको हो। सङ्घले काठमाडौंको स्वयम्भुस्थित मुस्ताङ गुम्बा र नुब्री गुम्बा, रातो गुम्बामा रहेका बाढी प्रभावितका लागि निःशुल्क शिविर सञ्चालन गरिरहेको छ।

सङ्घका महासचिव रामदेव महतोले बाढीबाट प्रभावित नागरिकको तनाव कम गर्न विगत एक सातादेखि उनीहरुलाई राखिएको काठमाडौंको विभिन्न गुम्बामा पुगेर शिविर सञ्चालन गर्दै आएको जानकारी दिए।

शिविरमा अकुपञ्चर सेवा, अकुप्रेसर सेवा तथा तनाव कम गर्न विभिन्न परामर्श सेवा दिइँदै आइएको छ। सेवापश्चात् प्रभावितलाई तनाव व्यवस्थापन गर्न राहत पुगेको छ।

प्रत्येक दिन एक सयभन्दा बढी व्यक्तिले उक्त सेवा लिँदै आएका छन्। उक्त शिविर निरन्तर सञ्चालन गरिने सङ्घले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *