लकडाउन : कोठामा बन्द बालबालिकालाई रुची अनुसारको काम गर्न प्रेरणा दिनुस्
सांकेतिक तस्वीर
नुवाकोट। विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट बच्न सरकारले घोषणा गरेको लकडाउन चौथो हप्तामा चलिरहेको छ।
लकडाउन कहिले खुल्न भन्ने निश्चित छैन। लकडाउन हुने हल्ला चल्दै गर्दा कतिपय मानिस गाउँ फर्किन सफल भएपनि अझै कतिपय मानिस काठमाडौंलगायत शहरी क्षेत्रमा बस्न बाध्य छन्।
गाउँघरमा बालबालिका बालबालिकालाई सम्हाल्न केही सहज भएपनि शहरमा भने बालकालिकालाई सम्हाल्न कठिन भएको अभिभावकले गुनासो गरेका छन्।
काठमाडौं लगायत शहरी क्षेत्रमा सानो कोठामा बालबालिकालाई जेलमा जस्तै कोचेर राख्दा बालबालिकामा मानसिक समस्या उत्पन्न हुने त्रास अभिभावकलाई परेको छ।
काठमाडौको टेकुमा बस्ने केशव तिमल्सिनाले भने, ‘यो कठिन अवस्थामा भयो। सानो कोठामा छोराछोरी, किचेन सबै राख्नुपर्ने बाध्यता छ। अब त तिनीहरु वाक्क भैसकेको छन्। आफैंलाई डर लाग्न थाल्यो कतै यिनीहरुको मस्तिष्कमा केही असर पर्ने त होइन।’
यस्तै गाउघरमा बसोबास गर्ने बालबालिकाले टिभीमा कार्टुन हेरेरै आफ्नो दिनचर्या बिताउने गरेको र अभिभावक यस बिषयमा चिन्तित हुने गरेका छन्।
नुवाकोटकी विन्दा वस्ती भन्छिन्, ‘विहानदेखि बेलुकासम्म कोठाभित्रै थुनेर राख्नुपर्ने अवस्था छ। विहान उठेदेखि टिभीमा केटाकेटी झुमिन्छन्। बाहिर निकास्दा के के रोग आएको छ भन्छन्। केटाकेटीको पढ्ने तिर ध्यान नै छैन। कोठामा थुनेर राखेर होला छोरी कम थोल्न थालेकी छ। चिन्ता लाग्न थाल्यो।’
बालबालिकालाई कोठाभित्र थुनेर राख्दा मनोवैज्ञानिक असर पर्ने अभिभावकले चिन्ता जनाइरहँदा बालमनोविद दामोदर न्यौपानेले यो विषयमा खासै चिन्ता गर्नु नपर्ने बताए। ‘छ कक्षा भन्दा तल पढ्नेलाई खासै असर पर्दैन। उनीहरुको उमेर ‘शोक न सुर्ता, भोक न भकारी’ भन्ने हो। त्यसकारण असर पर्दैन। उनीहरु जस्तोसुकै वातावरणमा पनि घुलमिल गर्न सक्ने हुन्छन्।’
तर यस्तो बेलामा बालबालिकलाई अभिभावकको साथ भने चाहिने उनले बताए। बच्चा क्यारेन्टाइनमा छ भने यसलाई हामी किन क्वारेन्टाइनमा छौं भन्ने ज्ञान हुनपर्ने उल्लेख गर्दै न्यौपानले भने, ‘यो बेला अभिभावकको गाइड जरूरी हुन्छ। कतिलाई कोरोना भनेको थाहा छैन, तिनीहरुलाई बुझाई दिनु पर्छ। टिभीमा भुलिएपछि आनन्द हुन्छ भन्ने छ कति अभिभावकलाई। यो गलत हो।’
यस्तो फुर्सदको समयमा अभिभावकले आफ्ना बालबालिकालाई धेरै कुरा सिकाउन सक्ने उनको भनाइ छ। ‘खाना बनाउने, राम्रो संस्कार सिकाउन तथा खेलकुदमा व्यस्त राख्न सकिन्छ,’ वालमनोविद न्यौपानेले भने, ‘यस्तो बेलामा किताव बढाउन, आफ्ना अनुभव अनुभूति लेख्न लगाउन पनि सकिन्छ। चित्र बनाउन र यूट्यूवमा हेरेर राम्रो कुराको ज्ञान लिन पनि सकिन्छ।’
बालकालिकाको चाहना अनुसारको प्रेरणा अभिभावले दिनपर्ने उनको भनाइ छ।







डिसी नेपाल








Facebook Comment