दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश, सम्पत्ति शुद्धीकरण मुद्दाका कारण थुनामै रहने
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा आरोपित बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको एकल इजलासले बिहीबार दुवै अभियुक्तका हकमा थुनछेक आदेश जारी गर्दै धरौटी माग गरेको हो।
अदालतले बिमासम्बन्धी कसुरमा सुलभ अग्रवालसँग दुई करोड रुपैयाँ र दीपक भट्टसँग डेढ करोड रुपैयाँ धरौटी माग गरेको छ। त्यसैगरी, धितोपत्रसम्बन्धी कसुरमा अग्रवालसँग डेढ करोड र भट्टसँग एक करोड रुपैयाँ धरौटी माग गरिएको छ।
जिल्ला अदालत काठमाडौँले एक साता लामो निरन्तर सुनुवाइपछि बिहीबार उक्त थुनछेक आदेश जारी गरेको हो। यसका साथै, हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्रीसँग सम्बन्धित अर्को मुद्दामा अदालतले सुलभ अग्रवालसँग थप दुई करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ।
जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश जारी गरे तापनि उनीहरू तत्काल कारागारमुक्त भने हुने छैनन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर कसुरमा विशेष अदालतको पूर्वआदेश अनुसार उनीहरू न्यायिक हिरासत (थुना) मै रहनेछन्।
सम्पत्ति शुद्धीकरणको अभियोगमा विशेष अदालतले उनीहरूलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिइसकेको छ। तसर्थ, जिल्ला अदालतले तोकेको बिमा र धितोपत्रसम्बन्धी मुद्दाको धरौटी बुझाए तापनि अन्य मुद्दामा थुनामा रहेका कारण उनीहरू तत्काल थुनामुक्त हुन पाउने छैनन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment