जुम्लामा पुनः निषेधाज्ञा
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा चन्दननाथ नगरपालिकासहित जिल्लाका तातोपानी, हिमा, सिञ्जा गुठीचौर र कनकासुन्दरी गाउँपालिमा पुनः निषेधाज्ञा जारी गरिएको छ । समुदायमा कोरोना भाइरस फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित स्थानीय तहमा निषेधाज्ञा जारी गरेको हो।
चन्दननाथ नगरपालिका भने सिल नै गरिएको छ । बजार क्षेत्र भएको नगरपालिकाको पूर्वमा दानसाँघु, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय, दक्षिणमा तिलानदी र पश्चिममा गमगाड क्षेत्रभित्रका औषधि पसलबाहेक अन्य सम्पूर्ण पसल पूर्णरूपमा बन्द गरिएको छ । पातारासी गाउँपालिकामा भने यसअघि नै निषेधाज्ञा गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जारी गरेको निषेधाज्ञामा साउन ३२ गते राति १२ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जनाइएको छ । स्थानीय प्रशासनले सङ्क्रमण रोग ऐन, २०२० को २ (२) र स्थानीय प्रशासन ऐन २०२८, को ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए। उनले भने, “स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा विभिन्न स्थानमा स्वाब सङ्कलन गर्दा समुदायमा कोरोना फैलिनबाट रोक्न, सङ्क्रमण हुन नदिन निषेधाज्ञा गरिएको हो ।”
यसैगरी कुनै पनि भेला नगर्नसमेत निर्देशन गरिएको छ । तीज नजिकिँदै गर्दा विभिन्न स्थानमा हुने भेला, गाउँमा धार्मिक मेला र राजनीतिक भेलाले जोखिम बढेको प्रमुख जिल्ला अधिकारी थापाले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment