काँग्रेसको अपीलः कोरोनाको सामना संयम, एकता र दृढता साथ गरौं

डिसी नेपाल
७ भदौ २०७७ १६:५२

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाको सामाना संयम, एकता र दृढताका साथ गर्न अपील गरेको छ। आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाले एक अपील जारी गर्दै भनेका छन्, ‘देशका कयौं भागमा लक डाउन र निषेधाज्ञा जारी रहेका कारण यतिबेला जनजीवन कष्टकर बनेको छ। कोरोना महामारीका कारण उत्पन्न यस्तो प्रतिकुल समयमा म समस्त दिदिबहिनी दाजुभाइलाई संयम र एकता साथ आजको परिस्थिति सामना गर्न हार्दिक अपील गर्दछु।’
सभापति देउवाले ‘फ्रन्ट लाइन’ मा काम गर्नेहरुको सह्राहना पनि गरेका छन्।

उनले भनेका छन्. ‘प्रतिकुल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीहरुले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले कार्य गरिरहनु भएको छ। म हृदय देखिनै उहाँहरुको प्रशंसा गर्दै अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोबैज्ञानिक वातावरणमा खलल हुन नदिन बिशेष ध्यान पु¥याउन सरकारलाई आग्रह गर्दछु।’

कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको भन्दै देउवाले स्वास्थ्यकर्मीहरु र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि म तीनवटै तहका सरकारहरुलाई सजग गराएका छन्। उनले अगाडि भनेका छन्, ‘आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिरहेको छ। आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्र्मीहरुको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो। यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न म समस्त दिदिबहिनी दाजुभाइलाई आग्रह गर्दछु।’

सभापति देउवाले लक डाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न सरकारसँग अपील गरेका छन्। उनले भनेका छन्, ‘पीसीआर परीक्षण ७७ जिल्लामै गर्ने गरी अविलम्ब क्षमता बिस्तार गरेर समुदाय स्तरमा परीक्षण व्यापक रुपले पुर्याउन माग गर्दछु। कोभिड अस्पतालहरु निश्चित र ब्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड ब्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न माग गर्दछु। खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न सरकारलाई आग्रह गर्दछु।’

क्वारेन्टाइनहरु ब्यवस्थित नहुँदा कोरोनाको विस्तारमा योगदान पुगेको भन्दै देउवाले मापदण्डयुक्त क्वारेन्टाइनहरुको ब्यवस्थापनमा अविलम्ब ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

लाखौंको संख्यामा बिदेशमा रहेका नेपाली दिदीबहिनी दाजुभाइलाई कोरोना संक्रमणबाट आफू र आफ्नो परिवारलाई सतर्कतापूर्वक जोगाउन पनि काँग्रेसले अपील गरेको छ। नेपाली जनसम्पर्क समितिहरु तथा देश बाहिर रहेका सबै संघसंस्था र नेपाली दूतावासहरुलाई यो प्रतिकूलताका घडी डायस्पोराका नेपालीहरुको हितमा ऐक्यवद्ध ढंगले कार्य गर्न सभापति देउवाले आग्रह गरेका छन्।

देउवाले भनेका छन्, ‘बिदेशमा अप्ठ्यारोमा परेर देश फर्कन चाहने नेपालीलाई उद्वार गर्न नेपाली कांग्रेसले शुरुआत देखि नै सरकारलाई आग्रह र माग गर्दै आएको छ। नीति र ब्यवहार दुवैमा अस्पष्ट रहेर सरकारले देखाएको ढिलासुस्ती र अन्यौलताले प्रवासी नेपालीको पीडा माथि पीडा थपिएको छ। बिदेशमा रोजगार गुमाएर बेखर्ची समेत भएका युवाहरूलाई कल्याण कोषको रकम प्रयोग गरेर निःशुल्क उद्वार गर्न म सरकारसंग माग गर्दछु।’

देउवाले अगाडि भनेका छन्, ‘कोरोनाको संक्रमणबाट जनताको जीवन रक्षामा समर्पित हुनु आज हामी सबै राजनैतिक दल एवं संघसंस्थाहरुको साझा कर्तव्य भएको छ। आपसी एकता र विश्वासका साथ आफ्नो कार्यक्षेत्रमा उच्चतम मानवीय भावना साथ थप कृयाशिल रहन म नेपाली कांग्रेसका साथीहरू संगै सबै दल, संघसंस्थामा आवद्ध मित्रहरूलाई आग्रह गर्द्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.