काजल अग्रवालको गाडीमा जबरजस्ती छिरेर सहायक निर्देशकले सर्ट फुकालेपछि…
काठमाडौं । आफ्नो फिल्मी करियरका क्रममा भारतीय अभिनेत्री काजल अग्रवालले धेरै मानिसहरूसँग भेटघाट गरेकी छन्। तर, ती सबै भेटघाटहरू सुखद भने रहेनन्।
हालै काजलले चलचित्रको सेटमा सहायक निर्देशकसँग घटेको एउटा अनौठो र डरलाग्दो घटनाको खुलासा गरेकी छन्, जसलाई सुनेर धेरैजसो मानिसहरू चकित परेका छन्।
काजलका अनुसार एक सहायक निर्देशक बिना अनुमति र ढोका नढक्ढक्याइ उनको भ्यान भित्र छिरेका थिए। त्यसपछि ती व्यक्तिले अचानक आफ्नो सर्ट फुकालेर छातीमा बनाएको काजलको नामको ट्याटु देखाएका थिए।
एबीपी न्युजसँगको कुराकानीमा काजलले उक्त घटनाको स्मरण गर्दै भनिन्, ‘केही दिनअघि एउटा चलचित्रको छायाङ्कन सकिएपछि म आफ्नो भ्यानमा आराम गरिरहेकी थिएँ। त्यतिबेलै चलचित्रमा कार्यरत एक सहायक निर्देशक बिना अनुमति अचानक मेरो भ्यानभित्र छिरे। उनले तुरुन्तै आफ्नो सर्ट फुकालेर छातीमा मेरो नामको ट्याटु देखाए। यो घटना यति धेरै स्तब्ध पार्ने खालको थियो कि मेरो हात-खुट्टा काप्न थालेका थिए।’
काजलले ती सहायक निर्देशकले आफ्नो नामको ट्याटु बनाएर आफूप्रतिको क्रेज (प्रशंसक भाव) देखाएको स्वीकार गरे तापनि उनको त्यो व्यवहार पूर्ण रूपमा गलत र अशोभनीय भएको प्रस्ट पारिन्।
काजलले थप भनिन्, ‘कसैले मेरो नामको ट्याटु बनाउनु मेरो लागि खुसीको कुरा हुन सक्छ, तर एक महिला एक्लै भएको अवस्थामा बिना अनुमति भित्र छिर्नु पूर्ण रूपमा गलत थियो। कोही जतिसुकै ठूलो प्रशंसक किन नहोस्, यस्तो गैरजिम्मेवार र असभ्य व्यवहार स्वीकार गर्न सकिँदैन।’
काजलले ती व्यक्तिलाई यस्तो हर्कतले कानुनी कारबाही सम्म पुर्याउन सक्ने भन्दै कडा चेतावनी दिएर त्यहाँबाट पठाएकी थिइन्।
काजल अग्रवालको आगामी व्यावसायिक जीवनलाई हेर्ने हो भने उनी पौराणिक चलचित्र ‘रामायण’ मा ‘मन्थरा’ को भूमिकामा देखिँदै छिन्। बलिउडमा काजललाई विशेष गरी अजय देवगनसँगको चलचित्र ‘सिङ्घम’ र अक्षय कुमारसँगको ‘स्पेशल २६’ मा गरिएको अभिनयका लागि धेरै सम्झिने गरिन्छ। अब उनलाई मन्थराको नकारात्मक तथा चुनौतीपूर्ण भूमिकामा हेर्न प्रशंसकहरू उत्सुक देखिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment