स्थानीय तहद्वारा आइसोलेसन व्यवस्थापनमा आलटाल
काभ्रेपलाञ्चोक । समुदायस्तरमा कोरोना सङ्क्रमणको उच्च जोखिम बढ्दै गएको अवस्थामा यहाँका अधिकांश स्थानीय तह आइसोलेशन कक्ष व्यवस्थित गर्न आलटाल गरिरहेका छन् । १३ स्थानीय तहमध्ये आठले हालसम्म आइसोलेसन कक्ष निर्माण गरेका छैनन् ।
आइसोलेसन कक्ष तयार गरेका पाँच स्थानीय तहमध्ये बनेपा नगरपालिकाले ५० बेड र धुलिखेल नगरपालिकाले ३१ बेडको कक्ष तयार गरेका हुन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार हाल तीन नगरपालिका पाँचखालले सात, पनौतीले छ र नमोबुद्धले छ बेडको आइसोलेसन कक्ष व्यवस्थित गरेका छन् । मण्डनदेउपुर नगरपालिका तथा खानीखोला, महाभारत, रोशी, बेथानचोक, तेमाल, भुम्लु र चौंरीदेउराली गाउँपालिकाले हालसम्म आइसोलेसन कक्ष व्यवस्थित गरेका छैनन् ।
बनेपाले प्राविधिक शिक्षालय भवनमा र धुलिखेल नगरपालिकाले सञ्जीवनी उच्च माविको भवनमा हालै मात्र आइसोलेसन कक्ष व्यवस्थित गरेका हुन् । कोरोना सङ्क्रमितलाई उपचारार्थ राख्न आइसोलेसन कक्ष व्यवस्थित गर्नुपर्ने भएको हो । जिल्लाभित्र कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढ्दै गएपछि करिब दुई महिनाअघि नै पोष्ट र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको संयुक्त बैठकको निर्णयसँगै स्थानीय तहलाई आइसोलेशन कक्ष बनाउन पटकपटक आग्रह गर्दै आएको जनाइएको छ ।
“सबै स्थानीय तहलाई आइसोलेशन कक्ष व्यवस्थित गर्न आग्रह गर्दै आएका छौँ, केहीले मात्रै बनाएका छन्, अन्यले वास्ता गरेका छैनन्” पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले भने । उनका अनुसार स्थानीय तहले आइसोलेशन नबनाए जिल्लाका अस्पतालले सङ्क्रमित धान्नसक्ने अवस्था छैन ।
पोष्ट र केन्द्रले सबै स्थानीय तहलाई प्रारम्भिक चरणमा १० बेडको आइसोलेशन कक्ष तयार गर्न पटकपटक आग्रह गर्दै आएको हो । झाले भने, “स्थानीयस्तरमा सङ्क्रमित देखिन थालेका छन्, त्यो सङ्ख्या बढेपछि बनाउन बाध्य होलान् कि !” यहाँका स्थानीय तहले हालसम्म जम्मा सय बेडको आइसोलेसन कक्ष व्यवस्थित गरेका हुन् ।
छ बेडको आइसोलेसन कक्ष तयार गरेका नमोबुद्ध नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले आवश्यकताअनुसार आइसोलेसन बेडको संख्या बढाउन तयारी अवस्थामा रहेको बताए । उनका अनुसार उक्त नगरका पाँच सङ्क्रमितमध्ये दुई धुलिखेल अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् भने तीन उपचारपछि हाल ‘होम क्वारेन्टिन’मा बसेका छन् ।
भुम्लु गाउँपालिकाले कोरोना सङ्क्रमित बढ्दै गए पनि आइसोलेसनका लागि आवश्यक स्वास्थ्यकर्मी नहुँदा व्यवस्थित नगरिएको जनाएको छ । “चिकित्सकलगायत जनशक्ति भए स्थानीयस्तरमै सङ्क्रमितको उपचार गर्न आइसोलेसन कक्ष तयार गर्न सकिन्छ, तर अहिले सम्भव छैन”, अध्यक्ष गुमानध्वज कुँवरले भने । उनका अनुसार गाउँपालिकाका १० कोरोना सङ्क्रमितमध्ये हाल तीन मात्रै आइसोलसनमा उपचाररत छन् ।
जिल्लामा हालसम्म १६३ मा कोरोना सङ्क्रमण देखिएको छ । यसमध्ये एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ६८ उपचारपछि घर फर्किएका छन् । बाँकी ९३ सङक्रमित विभिन्न आइसोलेसनमा उपचाररत छन् । विश्वव्यापी महामारीका रुपमा कोरोना भाइरस् सङ्क्रमण फैलँदै गएपछि २०७६ चैत महिनायता यहाँका स्थानीय तहले ८४५ शै्ययाको क्वारेन्टिन बेड व्यवस्थित गरेका छन् ।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment