दुईदिने सार्वजनिक बिदाले चितवनको पर्यटनमा उत्साह: वर्षायाममै ह्वात्तै बढे आन्तरिक तथा बाह्य पर्यटक

डिसी नेपाल
१० साउन २०८३ १२:५४

चितवन। सरकारले सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै चितवनका पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। सामान्यतया सुस्त मानिने वर्षायामको समयमा पनि पर्यटकहरूको बाक्लो उपस्थिति देखिन थालेपछि यहाँका पर्यटन व्यवसायीहरू निकै उत्साहित बनेका छन्।

जिल्लाका प्रमुख पर्यटकीय क्षेत्रहरू सौराहा, पटिहानी, जगत्पुर र मेघौलीमा विगतका वर्षहरूका तुलनामा यस वर्ष आन्तरिकका साथै भारतीय र चिनियाँ पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको व्यवसायीहरूले बताएका छन्।

क्षेत्रीय होटल संघ चितवनका अनुसार वर्षायाममा अन्य समयमा पर्यटकीय गतिविधि करिब ३० प्रतिशतमा सीमित हुने गरेकोमा यस वर्ष होटलहरूको अकुपेन्सी क्षमता करिब ५० प्रतिशत पुगेको छ।

हप्तामा दुई दिन बिदा लागू भएपछि गत वर्षको यही अवधिको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या करिब २५ प्रतिशतले बढेको छ। विद्यालय तथा कलेजहरूमा परेको बिदाले पनि आन्तरिक पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुऱ्याएको छ।

यद्यपि, सडक पूर्वाधारको दयनीय अवस्थाका कारण अपेक्षाअनुसार अझै धेरै पर्यटक भित्राउन नसकिएको र केही पर्यटकहरू अन्य गन्तव्यतर्फ मोडिनुपरेको व्यवसायीहरूको भनाइ छ।

तर पनि, केही वर्षअघिसम्म वर्षायाममा होटलहरू नै बन्द गर्नुपर्ने बाध्यता रहेको सौराहामा अचेल सिजनल र अफ-सिजन लक्षित बजार प्रवर्द्धनका कामहरू हुन थालेका छन्।

पर्यटन व्यवसायीहरूका अनुसार साताको दुईदिने बिदाले पर्यटन क्षेत्रलाई प्रत्यक्ष रूपमा ठूलो राहत पुऱ्याएको छ। विशेष गरी भारतीय पर्यटकहरूका लागि नेपाल प्रमुख रोजाइको गन्तव्य बन्नुका पछाडि भारतीय सरकारको विदेशी मुद्रा सञ्चिति नीति, मध्यपूर्वमा जारी द्वन्द्व र थाइल्यान्डको कडा भिसा प्रक्रियाजस्ता कारणहरू रहेका छन्। यसको सकारात्मक असर सौराहा र वरपरका पर्यटकीय क्षेत्रहरूमा प्रष्ट रूपमा देखिएको छ।

पटिहानीस्थित होटल सञ्चालकहरूले पनि अघिल्ला वर्षहरूको तुलनामा पर्यटक बढाउन दुईदिने बिदा नै मुख्य कारक बनेको दाबी गरेका छन्। हाल सौराहामा १४१ वटा र पश्चिम चितवनका पटिहानी, जगतपुर एवं मेघौलीमा गरी दैनिक करिब १० हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमताका साना-ठूला होटलहरू सञ्चालनमा छन्।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा एकसिङ्गे गैँडा, पाटेबाघलगायतका वन्यजन्तु हेर्न, जीप तथा हात्ती सफारी गर्न र डुङ्गा सयरका लागि स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ आउने गर्दछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *