विश्वकप क्रिकेट लिग–२ आगामी डिसेम्बरमा नेपालमा गर्न पहल

डिसी नेपाल
८ असोज २०७७ २१:२१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बरमा एकदिवसीय सिरिज गर्ने योजना बनाएको छ । क्यानले विश्वकप क्रिकेट लिग टु अन्तर्गतको एक त्रिकोणात्मक सिरिजलाई नेपालमा गर्नका लागि पहल गर्ने भएको छ । मंगलवार भएको कार्यसमितीको बैठकमा क्यानले २०२१ मा धेरै प्रतियोगिता खेल्नुपर्ने भएकाले त्यो मध्येको एक प्रतियोगिता डिसेम्बरमा गर्नका लागि प्रस्ताव गर्ने योजना बनाएको हो ।

नेपालले आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत खेल्नुपर्ने तीन वटा सिरिज कोरोना भाइरसका कारण स्थगित भएका छन । नामिबिया, स्कटल्याण्ड र पीएनजीमा खेल्नुपर्ने तीन वटा सिरीज अर्को बर्षका लागि आइसीसीले नै सारेको थियो । २०२१ मा अब नेपालले नौ वटा त्रिकोणात्मक सिरिज खेल्नुपर्ने अवस्था रहेको छ । त्यसमा तीन वटा सिरिज २०२० बाट सरेका मध्ये छन ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार कार्यसमितीको बैठकको निर्णयमा मैत्रीपुर्ण खेल भनेर भनिए पनि त्यो प्रतियोगिता आइसीसी विश्वकप लिग टु अन्तर्गतको एक सिरिज हुनेछ । क्यानले आइसीसी विश्वकप लिग टु का लागि आइसीसीसँग प्रस्ताव गर्ने र राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयलाई पनि पत्राचार गर्ने जनाएको छ ।

साथै क्यानले नेपाल क्रिकेट लिग गर्ने योजना बनाएको छ । क्यानले अघिल्लो बर्ष नै नेपाल क्रिकेट लिग गर्ने योजना बनाएर त्यसका लागि आन्तरिक तयारी पनि गरिसकेको थियो । त्यसका लागि विभिन्न ब्यवसायीक घरानासँग कुरा अगाडी बढाएपनि अन्तिममा कोरोनाले नेपाल क्रिकेट लिग गर्ने योजना असफल भएको थियो । तर यो बर्ष क्यानले एनपीएललाई विशेष तरिकाले बनाउने योजना बनाएको छ । यसका लागि प्रारम्भिक चरणमा पाँच करोडभन्दा बढिको बजेट लाग्ने सक्ने अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *