जब छैटौं दिनमा श्रीमान आउनु भयो, तब नयाँ जीवन पाउने अपेक्षा गरेँ

डिसी नेपाल
१३ कार्तिक २०७७ ८:११
1.0k
Shares

म पवन वर्षा शाह, नेपाल पत्रकार महासंघको पूर्व सदस्य, विगत केही वर्षदेखि नेपाली सञ्चार माध्याममा आवद्ध भएर काम गर्दै छु। योबीचमा म नेपाल बाहिर थिएँ। नेपाल आएपछि काम सुरु गरेकी छैन। असारमा बाबु जन्मिएपछि अहिले बाबुकै स्याहार सुसारमा छु।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना महामारीबाट म पनि अछुतो रहन सकिन। म भन्दा पहिला मेरो घरमा मेरो सासुआमा बिरामी हुनु भयो। उहाँलाई अस्पतालमा भर्ना गरेर राखिएको थियो।

उहाँलाई अलि निको भएपछि अस्पतालबाट डिस्चार्ज गरियो। उहाँलाई घरमा ल्याएर राखेँ। घरमा ल्याएपछि आफैंले स्याहार सुसार गर्नु पर्ने भएकाले म उहाँसँगै व्यस्त हुन थालेँ। असोज १७ गते थाकेको अनुभव गरेँ। अलि पहिलाबाट पनि थाकिएको अनुभव त हुन्थ्यो।

तर,त्यो दिन अझै बढी भयो। मैले सोचेँ काम धरै गर्न बानी नभएकी म कामको धपेडीले होला। निरन्तर त्यो अवस्था बढ्दै गयो। टाउको दुख्ने, पसिना आउने जस्ता समस्याहरु सृजना भएपछि मैले आफूलाई पनि लागेको महशुस गरेँ। चेकअपका लागि अस्पताल पुगेँ। स्वाब दिएर घरमा आए। रातिसम्म रिपोर्ट आउँछ होला भन्ने लागेको थियो, तर आएन रातैभरी निद्रा लागेन।

कतिबेला के रिपोर्ट आउला भन्ने भयो। बिहान रिपोर्ट हेर्दा छागाँबाट खसे झैँ भएँ। यही असारमा जन्मेसको बाबु, छोरी पनि मलाइ छोडेर अलग्गै सुत्ने भएकी छैनन्। अक्सिजन लगाएर राखेकी सासुआमा, बुढो ससुरा। करिव आधा घण्टासम्म आफूले आफैलाई सम्हाल्न सकिन्। कोठामा बसेर रोएँ। तै पनि जिम्मेवारी भन्दा ठूलो अरु केही पनि अनुभव नहुँदो रहेछ। मैले फोन उठाएँ।

सबै भन्दा पहिला सानो बच्चालाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर डाक्टरहरुसँग सल्लाह गरेँ। ठूली छोरीलाई अर्कै कोठामा सारेँ। बुढो हुनु भएको ससुरा बुबालाई भान्छाको जिम्मेवारी आइलाग्यो। अर्कै कोठामा गएर बसेकी छोरीले उतैबाट आफ्नो बालपन देखाउदै थिइन्। उनीसँग त्यो भन्दा बढी विक्ल्प थिएन। मैले पनि ढोका लगाएर एउटा कोठामा बसेकीले उसको संघर्षको ध्वनी श्रवण गर्नु भन्दा अर्को विकल्प थिएन।

ससुरा बुबाले भान्छा सम्हाल्नुको विकल्प थिएन। आफ्नै घरको एउटा कोठाबाट भान्छामा ससुराबुबालाई फोनबाट खाना पकाउन सघाउनुको विकल्प थिएन। सबै कुराको विकल्प हिन भएँ। छोरीको संघर्षको कथा पनि सुनाउन सक्दिन। एउटी आमाले आफ्ना सन्तालले गर्ने त्यत्रो संघर्ष र विलाप कसरी टुलुटुलु हेरेर बस्न सक्छिन्? बाध्य भए।

मैले मेरै कोठाको ट्वाइलेटको झ्यालबाट छोरीको कोठा हेर्ने प्रयास मात्र गर्न सकेँ। करिव ५ दिनसम्मको यो दैनिकीले मैले आफूलाई आफू नै पाएन। म कोही अरु भइसकेकी थिएँ। ऐनामा आफ्नो अनुहार समेत आफूलाई याद नभएको जस्तो अनुभूति हुन थाल्यो। जब छैटौं दिनमा मेरो श्रीमान आउनु भयो बल्ल नयाँ जीवन पाउने अपेक्षा गरेँ। लामो श्वास फेरेँ। अनि आफूले आफै हुँ भन्ने अनुभूति गरेँ।

मलाइ स्वाद हराउने समस्या भएको थियो। १४ दिनसम्म पनि खान मन नलाग्ने भयो। १४ दिनमा मैले पुनः पीसीआर परीक्षण गरेँ। पुनः पोजेटि आयो। अझै मेरो एकान्तबास लम्बिने भयो भन्ने ठानेँ। श्रीमान घरमा भएकाले पहिला जस्तो आत्तिएकी भने थिइन्। अब त श्रीमान हुनुहुन्छ, जस्तो सुकै परिस्थिति पनि सम्हाल्न सक्नु हुन्छ भन्ने भयो। मैले आफूलाई शान्त राखेँ।

पहिले जस्तो तनाब लिइन। सायद त्यसपछि मेरो रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि भयो होला। मैले २२ दिनमा गरेको परीक्षणबाट नेगेटिभ आयो। कोरोना आफूलाई नहुँदासम्म मात्र केही होइन जस्तो रहेछ। जव आफूमा आउँछ अनि बल्ल थाहा हुन्छ। मैले सबैमा अनुरोध गर्छु। हामी ९९ दशमलब ९९ प्रतिशत सजग रहनु पर्छ।

यति सजग रहँदा पनि भइपरी आउने पनि हुन सक्छ त्यसैले घरमा थर्मोमिटर, अक्सोमिटर सिटामोल, भिटामिन ‘सी’ जस्तो औषधिहरु राख्ने। बच्चाहरु भएको घरमा निको राख्ने, दुध चुसाउने आमा हुनुहुन्छ भने अनिवार्य मास्क प्रयोग गर्ने। खाना खादाँ पनि सकेसम्म टाढै बसेर खाने, एउटै डानिङ टेबुलमा खाना नखाने जस्ता उपाएहरु अपनाउनु पर्छ।

पत्रकार शाहसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *