ट्रम्प पक्षधरको जुलुसमा ‘चिनियाँ कम्युनिष्ट पार्टी’ को विरोध

डिसी नेपाल
३० कार्तिक २०७७ १०:५९

वासिंगटन डिसी। आफू पराजित भएको निर्वाचन परिणाम स्वीकार गर्न नसकेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरुले निर्वाचित राष्ट्रपति जो वाइडेनको पार्टीलाई चिनियाँ कम्युनिष्ट पार्टीसरह भएको भन्दै प्रदर्शन गर्न थालेका छन्।

शनिबार राष्ट्रपति भवन ह्वाइट हाउसअघि विहानैदेखि गरिएको जुलुस प्रदर्शनमा ट्रम्प समर्थकहरुले ‘इण्ड चाइनिज कम्युनिष्ट पार्टी’ को नारा लगाएका थिए। उनीहरुले अमेरिकालाई वाइडेन र डेमोक्रेटिक पार्टीले समाजवादी सिद्धान्त अपनाएको भन्दै कम्युनिष्ट पार्टीसरह भएको आरोप लगाउँदै आएका छन्।

प्रदर्शनका क्रममा पनि उनीहरुले व्यानर नै बनाएर आक्रोश पोखेका थिए। शनिबार ह्वाइट हाउसअगाडि ट्रम्प समर्थकहरुले प्रदर्शन गरिहेका बेला हाते माइक लिएर सोही ठाउँमा आएका वाइडेन समर्थकहरु ट्रम्प हरुवा (लुजर ट्रम्प) को नारा लगाएका थिए।

दुवै समुहका बीचमा झडप हुन नदिन स्थानीय प्रहरीले दुई समूहलाई दुईतिर राखी आफू बीचमा बसेको थियो। राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकहरुको प्रदर्शनको विरोधमा प्रदर्शन गर्नेहरुलाई अतिवादी भएको आरोप लगाएका छन्।

उनले अतिवादी एन्टिफाका समर्थकहरुले आफ्नो समूहको विरोधमा प्रदर्शन गरेको भन्दै आफ्ना समर्थकहरुलाई पछि नहट्न ट्वीट गरेका छन्। राष्ट्रपति ट्रम्पले निर्वाचन परिणाम अस्वीकार गर्दै धाँधली भएको आरोप लगाउँदै आएका छन् र उनको क्याम्पेनले विभिन्न राज्यहरु तथा सर्बोच्च अदालतमा पनि धाँधली भएको भन्दै विभिन्न मुद्धाहरु दायर गरेका छन् ।

निर्वाचित राष्ट्रपतिलाई पद हस्तान्तरण गर्ने दिन २० जनवरी २०२१ सम्म ट्रान्जिसनको प्रक्रिया शुरु गर्नु पर्नेमा ट्रम्पले त्यो शुरु गर्न दिएका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *