भ्रष्टाचारले प्रजातान्त्रिक संस्था ध्वस्त पार्छ : प्रधानमन्त्री ओली

डिसी नेपाल
२४ मंसिर २०७७ ७:४१
76
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारले  प्रजातान्त्रिक संस्थाहरुलाई ध्वस्त पार्ने बताएका छन्। प्रधानमन्त्री ओलीले भ्रष्टाचार आर्थिक अपराध मात्र नभइ यसले सामाजिक मूल्य मान्यता उपर सीधा प्रहार गर्ने बताए।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टचारले राजनीतिक स्थायित्व हुन नदिने, विकासको गतिलाई अवरोध गर्ने र राजनीतिक प्रणालीमा नै प्रहार गर्ने बताएका हुन्।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘पछिल्ला दिनहरूमा भ्रष्टाचारजन्य सम्पत्ति विदेशमा पुर्याउने, त्यसलाई अपराधजन्य कार्यहरूमा लगानी गर्ने र अन्तर्राष्ट्रिय शान्ति र सुव्यवस्था उपर नै आक्रमण गर्ने जोखिमसमेत देखिएको छ।’

वर्तमान सरकार भ्रष्टाचारलाई कडाइका साथ प्रभावकारी रूपमा नियन्त्रण नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल हुनसक्दैन भन्ने कुरामा स्पष्ट रहेको भन्दै प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रणका लागि सबै किसिमका नीतिगत, कानुनी र संस्थागत प्रबन्ध गर्ने कुरामा प्रतिबद्ध र क्रियाशील रहिआएको दाबी गरेका छन्।

भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुनी र संस्थागत संरचना सुदृढ गर्न भ्रष्टाचार नियन्त्रण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधनसम्बन्धी विधेयकहरू संघीय संसदमा गतवर्ष नै पेश भई विचाराधीन रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण ऐनसम्बन्धी विधेयकमा सार्वजनिक खरिदमा हुनसक्ने अनियमितता वा ढिलाइसम्बन्धी कार्यलाई पनि भ्रष्टाचारको दायरामा ल्याउने, विदेशमा लगेर राखेको सम्पत्ति फिर्ता ल्याउने र सार्वजनिक सेवा प्रवाहमा रहेको सर्वसाधारणको पुँजी प्रयोग गर्ने निजी क्षेत्रलाई समेत समेट्ने प्रस्ताव गरिएको बताए।

सेवा प्रवाहमा हुनसक्ने भ्रष्टाचारजन्य क्रियाकलाप नियन्त्रण गर्न सेवा प्रवाहलाई अनलाइन प्रणालीमा लगिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मालपोत, यातायात, राजस्व संकलन, स्थानीय तहबाट हुने सिफारिस लगायतका कामलाई अनलाइन प्रणालीद्वारा सञ्चालन गर्न प्रारम्भ गरिएको र सरकारी खर्चमा मितव्ययितासम्बन्धी मापदण्ड लागू गरिएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *