चुनावमा जान देउवालाई हुटहुटी, सूर्य चिन्हबारे निर्णय गर्न आग्रह
फाइल तस्वीर
काठमाडौं। आगामी वैशाख १७ गते हुने प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन आउन अब ७३ दिनमात्र बाँकी छ। तर, निर्वाचन आयोगले हालसम्म निर्वाचन कार्यातालिका सार्वजनिक गरेको छैन। सबैभन्दा पेचिलो मुद्दा नेकपाको चुनाव चिन्हबारे पनि निर्णय दिएको छैन। आयोगको काम गराइप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन्।
प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै काँग्रेसले सोमबार गरेको देशव्यापी प्रदर्शनका क्रममा बुटवल पुगेका देउवाले विरोधसभालाई सम्बोधन गर्दै निर्वाचन आयोगप्रति असन्तुष्टि पोखे। उनले वैशाखमा चुनाव गराउने भने पनि निर्वाचन आयोगले अहिलेसम्म किन निर्वाचन कार्यातालिका सार्वजनिक नगरेको भन्दै प्रश्न गरे।
उनले सरकारले वैशाखमै चुनाव गराउँछु भन्ने तर आयोगले निर्णय नगर्ने भइरहेको भन्दै आयोगले वैशाखमै चुनाव हुन्छ भन्ने विश्वास दिलाउनुपर्ने बताए।
देउवाले सत्तारुढ दल नेकपामा देखिएको चुनाव चिन्ह विबादबारे पनि बोल्दै नेकपा दुई समूहमा विभाजित भए पनि चुनाव चिन्ह सूर्य एउटै रहेको भन्दै ओली वा प्रचण्ड समूह कसलाई दिने हो, दिएर छिटो निर्णय गर्नुपर्ने बताए। उनले दुबै समूहलाई सूर्य चिन्ह दिन नसकिने भए अन्य कुनै चिन्ह दिएर भए पनि छिटो विवाद समाधान गर्नुपर्ने बताए।
सभापति देउवाको सोमबारको सम्बोधनले उनी चुनावमा जान हतारोमा रहेको बुझ्न सकिन्थ्यो। उनले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहे पनि निर्वाचन आयोगलाई काममा कुनै बाधा नभएको भन्दै अदालतको फैसला कुरेर निर्वाचन आयोगले काममा ढिलाई गर्न नहुने बताए। उनले यदि अदालतले संसद पुनःस्थापना गर्यो भने निर्वाचनका कार्यक्रम बन्द गरे हुने भन्दै अदालतलाई पर्खेर आयोग बस्न नमिल्ने बताए।
सभालाई सम्बोधन गर्दै देउवाले चुनावबारे आफ्नो पार्टीमा एकमत नरहेको भने स्वीकार गरे। तर, अदालतलाई यसो गर र उसो गर भन्न नमिल्ने दोहोर्याए। यसअघि पनि देउवाले अदालतलाई प्रभावमा पार्न नहुने भन्दै आएका छन्। देउवाले काँग्रेसका लागि चुनाव भए पनि ठिक संसद पुनःस्थापना भए पनि ठिक हुने बताए।







डिसी नेपाल








Facebook Comment