सर्वसाधारणको जग्गा झुक्याएर सार्वजनिक, न्याय माग्दा सिंहदरबारले सुनेन

रिता बस्नेत
१३ चैत २०७७ १४:५६
468
Shares

काठमाडौं। इलाम जिल्लाको सूर्यदय नगरपालिकाका ६९ वर्षीय इन्द्र ढकाल ३५ रोपनी जग्गाका धनी थिए। तर उनी यतिबेला अरुको जालझेलले गर्दा सुकुम्बासी बन्न पुगेका छन्।

इलाम जिल्लाको सूर्यदय नगरपालिका–११ का खडानन्द ढकाल (इन्द्र ढकालका बुबा) ले २०३२ सालमा तत्कालीन गाउँ पञ्चायतलाई एक रोपनी पाँच आना जग्गा दान दिएका थिए। सोही दान दिएको जग्गामा हाल वडा कार्यालय र स्वास्थ्य चौकी बनेको छ।

पछि पुनः२०३८ सालमा सोही ठाउँमा बनेको पञ्चकन्या मन्दिरको फूलबारी निर्माणको लागि खडानन्द ढकालले बाँकी रहेको ३५ रोपनी तीन दाम जग्गाबाट मन्दिरको सिमाना मिल्नेगरी ३५ फिट अर्थात् १० देखि १२ आना जग्गा दिएछन्।

तर, त्यतिबेला ढकालको ३५ फिट जग्गा सरकारकोे नाममा राख्नुपर्नेमा ३५ रोपनी नै सार्वजनिक गराइदिएछन्। जुन कुरा खडानन्दको मृत्युपछि उनका छोराहरुले अंशवण्डा गर्ने समयमा थाहा पाएछन्।

यतिबेला इन्द्र ढकाल, बुबाले दानमा दिएको जग्गाबाहेक अरु आफ्नो नाममा बनाउनको लागि विभिन्न कागजपत्र बोकेर मन्त्रालय धाएको धाएै छन्। उनी भन्छन्, ‘सूर्यदय नगपालिका–११ मा २०२८ सालमा नापी हुँदादेखिनै हाम्रो घर थियो। हामी चार दाजुभाइ हौं। हाम्रो समस्या भनेको, बुबाले दिएको जग्गा मात्रै राखेर अरु फिर्ता गरिदिनु भन्ने हो। अहिले मन्त्रिपरिषद्मा कुराकानी हुँदैछ।’

उनी थप्छन्, ‘मुखतिर ३५ फिट दिएर मन्दिरको सिमाना सिधा मिल्ने गरी पञ्चकन्या मन्दिरको फुलबारी बनाउन दिएको हो। ३५ फिट दिएको लिनेले चाहीँ ३५ रोपनी नै सार्वजनिक बनाइदिए।’

हुन त इन्द्र ढकालले जग्गा फिर्ता पाउनु पर्छ भनेर वडा, नगरलगायत धेरै ठाउँले सिफारिस गरिदिएको छ। यतिबेला इन्द्र ढकाल र उनकी श्रीमती ६५ वर्षीया तिलरुपा ढकाल तिनै सिफारिसलगायतका काजगपत्रहरु बोकेर सरकारलाई गुहारिराखेका छन्।

नगरलाई अनुगमन समितिले ३० रोपनी जग्गा उनको नाममा हुनुपर्ने भनि सिफारिस गरिदिएको रहेछ र नगरले मन्त्रालयलाई सिफारिस गरिदिएको रहेछ।

उनी भन्छन्, ‘अब उहाँहरु(मन्त्रालय)ले निर्णय गरिदिनुभयो भने जग्गा फिर्ता हुन्छ। नगरले मन्त्रालयलाई सिफारिस गरिदिएको छ। २०७३ सालमा प्रधानमन्त्री केपी ओलीले तोक लगाइदिनु भएको छ। निर्णय चाहीँ २०७६ फागुन १४ गते भएको हो।’

उनलाई तपाईँहरुलाई अन्यायमा पारेर जग्गा सार्वजनिक गरिदिनुको मुख्य कारण चाहीँ के हो नि? भनि प्रश्न गर्दा उनी भन्छन्, ‘बहुदलतिर लागेर हो। प्रजातन्त्रका लागि हाम्रो बुबा लड्ने हुनु भयो। बुबा नेपाली कांग्रेसको हुनुहुन्थ्यो अनि पञ्चायतले चाहीँ कांग्रेसमा लाग्यो भनेर सबै लिएको हो। बुबाले नै केही जग्गा दान दिएको हो, उहाँको मृत्यु भएपछि मात्रै हामीले सबै लगेको थाहा पायौं।’

उनी थप्छन्, ‘बुबा खसेपछि आफ्नो नाममा पास गर्न जाँदा त, छैन। अंशवण्डा गर्ने बेलामा थाहा भयो। मालपोत कटाएको रहेछ, थाहै भएन। यो वडाको सिफारिस (कागज देखाउँदै) यसले १० आना राखेर अरु फर्काइदे भन्यो। वडाले नगरलाई सिफारिस गरिदियो।’

प्रधानमन्त्री कार्यालय अगाडि भेटिएका ढकाल दम्पत्ति, सोधिखोजी गर्ने प्राय जतिलाई प्रधानमन्त्रीलाई सिफारिस गरिदिन आग्रह गरिरहेका देखिन्थे। ढकाल भन्छन्, ‘न्यूज नहालिकन बरु सरकारलाई नै भनेदेखि हुन्थ्यो होला। अनलाइनमा हाल्दाखेरी गाउँलेहरुले घरबाट निकाल्न खोज्दै छन्, ए अझै भएको रहेनछ यिनीहरुलाई चेप्ट्याउँदा हुन्छ भन्ने हुन्छ। त्यो भएकाले तपाईंले नेताहरुलाई मात्रै गरिदिनु भन्नु भए, कसो होला?’

दुई छोरा, दुई बुहारी र तीन जना नातिनातिना घरमै छोडर काठमाडौं आएको बताउने दम्पतिको जम्मा नौ जनाको परिवार यतिबेला त्यही सार्वजनिक गरिएको जग्गामा बस्दै आएको छ। ढकाल भन्छन्, ‘वडा कार्यालय र मन्दिरलाई त दान दिएकै हो। पछि ३५ फिट फुलबारीको लागि दिँदा सबै लगे। बठ्याईँ गरेर लगेका हुन्। (कागज देखाउँदै) यि मालपोत कार्यालयले भनेको छ त। नापीले पनि कित्ताकाट गलत भनेको छ।’

उनले चिन्तित हुँदै भने, ‘तपाइँहरुले समाचार हालेपछि, भएको रहेनछ यिनीहरुको भनेर घर छोड भन्दैनन्? अहिले उनीहरुले छोड्दे भन्दै धम्क्याउँदै छन्। आजसम्म कसैले हात त हालेका छैनन्। अब चाहीँ निकाल्ने भनिराखेका छन्। सालिक बनाउने, के बनाउने भन्दै छन्। उता घरबाट पनि केटाकेटीले फोन गरेर सुनाउँदै थिए। हामीले यताबाट यहाँ हुँदैछ भनेर सान्त्वना दिएका छौं, तर यहाँ भएको छैन।’

सोही कामको लागि दम्पत्ति काठमाडौं धाएको २०७० सालदेखि हो। हाल उनीहरु चागुनारायणमा चिनेजानेकोमा बस्दै आएका छन्। ढकाल दम्पत्ति भन्छन्, ‘गत पुस १९ गते आएका थियौं। तीन महिना भयो त्यहाँ बसेको। खर्चपानी भनि साध्यै छैन, पैसा पनि सकियो। भरसक चाँडै गरिदिनु भए हुन्थ्यो। फेरि कोरोना बढ्न थालिसक्यो।’

ढकाल थप्छन्, ‘सुवास नेम्वाङले सचिवलाई फोन गर्नु भएको थियो। त्यहाँदेखि यता केही पनि अगाडि बढेको छैन। अब तपाईँले पनि सोधिदिनु होला, यतिसम्म भएको रहेछ, कहिले गरिदिनु हुन्छ भनेर। प्रधानमन्त्रीलाई नै सोधिदिनु न। अहिलेको प्रधानमन्त्रीको भनाइ पनि राम्रो छ। गरिब दुःखीलाई जग्गा दिने भन्नु भएको छ। तर यो हाम्रो कुरा नै उहाँसम्म पुर्याउन पाइएन। उहाँ भएको ठाउँमा पुर्याइ नै दिँदैनन्।’

प्रधानमन्त्रीप्रति विश्वास भएको बताउने ढकाल दम्पत्ति एकचोटी मात्रै प्रधानमन्त्रीलाई भेट्न पाए आफ्नो काम फत्ते हुने भन्छन्। किन नभेटेको त?, भनि प्रश्न गर्दा उनीहरु एक्कै स्वरमा भन्छन्, ‘प्रधानमन्त्रीलाई मरिगए भेट्न दिँदैनन्। बालुवाटार पनि गयौं, दिएनन्। यहाँ त कतिचोटी आयौं, दिँदैनन्। हनुत सुवास नेम्वाङलाई भनिदिनु भयो भने पनि हुन्छ। जसलाई भने पनि हामीलाई त काम भए हुन्छ। तपाईँले सिधै प्रधानमन्त्रीलाई कुरा गरिदिनु न। हाम्रो बस्ने खाने कुरामा पनि बिजोग भइसकेको छ। अब घर जाने उपाय पनि छैन। यो नलिई के अनुहार देखाउन जानु र? ऋण पनि धेरै छ। यो भएन भने त तिर्ने उपाय नै छैन।’

ढकाल थप्छन्, ‘फेरि कोरोना बढ्दैछ, बस्ने खाने उपाय छैन। यति भयो भने हामी घरमा गएर गरिखान्छौ। सबैले सार्वजनिक जग्गामा बसेको छस भन्छन्। त्यस्ता शब्द कति सुन्नुपर्छ दिमागमा अट्दैन। क्याबिनेटले त्यो फाइल झिकाएर पास गराइदिनु पर्यो अनि हाम्रो काम हुन्छ।’

प्रधानमन्त्री इलाम जाँदा ढकालले दुई–तीन पटक निवदेन पनि दिएका रहेछन्। ‘प्रधानमन्त्री इलाममा जाँदा निवेदन दिएका थियौं, हुन्छ भन्नु भएको थियो।’, भन्दै उनले थपे, ‘गएको पुसमा तीन वर्ष भयो, तत्कालीन पर्यटनमन्त्री स्व.रवीन्द्र अधिकारीले पनि प्लेन दुर्घटना हुनुभन्दा अगाडि गरिदिन्छु भन्नु भएको थियो। युवराज दाहाल (प्रधानमन्त्रीका स्वकीय सचिव)ले पनि जसरी पनि गरिदिन्छौं भन्नु भएको थियो। उहाँहरु प्लेन दुर्घटना भएर मरिहाल्नु भयो।’

जग्गासम्बन्धी सबै कागजपत्र मुख्य सचिव शंकरदास बैरागीसम्म पुगेकाले अब प्रधानमन्त्रीकोमा पुग्ने र चाँडै निर्णय भई जग्गा पाइने आशामा ढकाल दम्पत्ति ढुक्क छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *