मुगु कर्णाली नदीमा महिला मृत फेला
मुगु। मुगुको मुगुम कार्मारोङ गाउँपालिका–६ निवासी ४१ वर्षीया टोमा लामा मुगु कर्णाली नदीमा मृत अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार श्रीमान् पेमा तोर्चे लामाकी पत्नी टोमा लामाको शव रिउस बगरस्थित मुगु कर्णाली नदीको बीच भागमा शुक्रबार फेला परेको हो।
मुगुम कार्मारोङ गाउँपालिका–७ का स्थानीय ठिल्ले लामाले प्रहरी चौकी पुलुलाई घटनाबारे जानकारी गराएपछि प्रहरी नायब निरीक्षक वीरबहादुर चन्दको कमाण्डमा पाँच सदस्यीय टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाका अनुसार टोमा लामा वैशाख २२ गते राति करिब ८ बजेदेखि घरबाट हराइरहेकी थिइन्। हराएको चार दिनपछि उनको शव नदीमा तैरिरहेको अवस्थामा फेला परेको जानकारी आएको प्रहरीले जनाएको छ।
घटना कसरी भयो भन्नेबारे हालसम्म स्पष्ट जानकारी प्राप्त नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment