बुधबारदेखि मौसममा थप फेरबदल आउने, वर्षा र हिमपातको सम्भावना

डिसी नेपाल
९ कार्तिक २०८३ १४:०९

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिन देशका विभिन्न भूभागमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले मौसममा परिवर्तन आउन लागेको हो।

मौसमविद् रोजन लामिछानेका अनुसार आज हिमाली भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहे पनि बुधबारदेखि भने वर्षा र हिमपातको क्रम सुरु हुनेछ। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ।

त्यस्तै, मङ्गलबार कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली भई कोशी, बागमती र गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बुधबारदेखि शुक्रबारसम्म भने देशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षा तथा हिमपात हुने महाशाखाले जनाएको छ।

मौसममा आउने यो परिवर्तनका कारण दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले अद्यावधिक सूचना लिएर आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन महाशाखाले सम्बन्धित सबैमा अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *