तालचोक-बेगनास सडकः तेस्रोपटक म्याद थप
गण्डकी। निर्माणमा ढिलाइ भइरहेको तालचोक-बेगनास सडकको तेस्रोपटक म्याद थप भएको छ। पोखरा महानगरपालिका-२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेनको उक्त सडक दुई वर्षभित्रमा सक्नेगरी विसं २०७९ असारमा सम्झौता भएको थियो।
आगामी असारभित्र काम सक्नेगरी ठेक्काको म्याद थप भएको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए। “तेस्रोपटक म्याद थप भएको छ, निर्माण कम्पनीले आगामी असारभित्रमा काम पूरा गर्ने प्रतिबद्धता जनाएको छ”, उनले भने, “अहिलेसम्म सडकको भौतिक प्रगति करिब ७५ प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ।”
सहरी विकास मन्त्रालय, महानगरपालिका, विकास साझेदार विश्व बैंक, परामर्शदातालगायत सरोकार भएका निकायसँगको छलफलमा निर्माण कम्पनीले तोकिएको समयमा काम सक्ने प्रतिबद्धता जनाएको इन्जिनियर गौतमले बताए। उनका अनुसार यसअघि थपिएको म्याद गत चैत १७ मा सकिएपछि तेस्रोपटक म्याद थप भएको हो।
‘स्वच्छन्द-सपना-वल्र्डवाइड जेबी’ले निर्माण ठेक्का सम्झौता गरेको एक वर्षपछि मात्र काम सुरु गरेको थियो। त्यसयता पनि निर्माण कम्पनीकै ढिलासुस्तीका कारण सडक समयमा बन्न नसकेको हो। तीन दशमलव २८ किमीको उक्त सडकमा जग्गा विवादका कारण पनि निर्माण प्रभावित हुन पुगेको इन्जिनियर गौतमले बताए।
महानगरपालिकाको पहलमा जग्गाको विवाद मिलिसकेकाले अब काम नरोकिने उहाँको भनाइ छ। यसअघि निर्माण कम्पनीले प्रतिबद्धताअनुसार सडक निर्माणलाई गति दिन नसकेपछि स्थानीयस्तरबाट आलोचना हुँदै आएको थियो। विश्व बैंकको आर्थिक सहयोगमा उक्त सडक चार लेनमा विस्तार तथा स्तरोन्नति हुन लागेको हो।
रु एक अर्ब ४९ करोडको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक रु ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको थियो। फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नमूना सडक बन्ने जनाइएको छ। सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत आकर्षक पूर्वाधार निर्माण हुनेछन् भने सडकमा तीनवटा पुल पनि बन्नेछन्।
महानगरको गौरवको आयोजनाका रूपमा तालचोक–बेगनास सडक स्तरोन्नतिलाई लिइएको नगरप्रमुख धनराज आचार्यले बताए। चार लेनको सडक बनेपछि सात तालको बाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ। पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रूपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ। तालचोक–बेगनास सडक पृथ्वी राजमार्गसँग जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने अपेक्षा छ।







डिसी नेपाल







Facebook Comment