इजरायल थप पाँच सय श्रमिक लैजाने भन्ने गलत सूचनाले लज्जित बनायो : महानिर्देशक दाहाल
काठमाडौं। इजरायल थप पाँच सय जना नेपाली श्रमिक लैजाने भन्ने गलत सूचनाले आफूलाई लज्जित बनाएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताएका छन्।
इजरायलमा पाँच सय नेपाली कामदार पठाउने औपचारिक सहमति भएको केही समयपछि फेरि थप पाँच सय नेपाली कामदार पठाउने विषयमा सहमति भएको भन्ने समाचार सूचनाको आधारमा केहि दिन अघि डिसी नेपालले प्रकाशित गरेको थियो।
सोही सूचना गलत भएको अहिले विभागले जनाएको छ। महानिर्देशक दाहालले आफ्नो निजी इमेलमा समेत दूतावासबाट पाँच सय जना कामदारको माग आएको बताए।
तर, पछि दूतावासले इमेल गलत ठाउँमा परेर क्षमा मागेको उनले जानकारी गराए। त्यो मेल त्रुटिपूर्ण रूपमा प्राप्त भएको भन्ने जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट समेत आफूलाई प्राप्त भएको उनले बताए ।
गत माघमा नेपाल र इजरायल सरकारबीच पाँच सय नेपाली श्रमिक सरकारी संयन्त्र (जीटूजी)मार्फत रोजगारीमा पठाउने गरी श्रम सम्झौता भएको छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि इजरायली राजदूत हनान गोडेर र बैदेशिक रोजगार विभागका महानिर्देशक दाहालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। सो मागको आवेदन भने खुलाउन बाँकी छ।
इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नसिंग होम, डे केयर सेन्टरहरु) मा नेपालबाट सहायक कामदारहरु पठाउने सम्बन्धि कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएको हो। प्रोटोकलअनुसार महिला र पुरुष गरी पाँच सय नेपाली कामदार इजरायल जाने छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment