एमाले विवादः स्पष्टीकरण सोधिएका नेताहरुसँग बालुवाटारमा छलफल, माधव समूह सर्वोच्चमा
काठमाडौं। सत्तारुढ दल नेकपा एमाले विभाजनको संघारमा पुगिरहेका बेला केही नेताहरु शीर्ष नेताहरुलाई वार्ताको टेबुलमा ल्याउन सक्रिय भएका छन्। सांसद पदबाट किन नहटाउने भन्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेको भोलिपल्ट बुधबार स्पष्टीकरण सोधिएका नेता योगेश भट्टराई बालुवाटार पुगेका छन्। प्रधानमन्त्री ओलीको बोलावटमा उनी बालुवाटार पुगेको स्रोतले जनाएको छ।
अध्यक्षलाई भेटेर आफूले खुला मनका साथ माधव नेपाल र झलनाथ खनालसँग छलफल गर्न सुझाव दिएको भट्टराईले बताएका छन्। उनले एमाले विभाजन हुँदा जनतामा निराशा आउने भन्दै पार्टीको विभाजन रोक्न सर्वोच्च अदालतले गरेको फैसलाकै विन्दुबाट अगाडि बढ्नुपर्ने सुझाव अध्यक्ष ओलीलाई दिएका छन्।
अध्यक्ष ओलीले स्पष्टीकरणको पत्र पठाएपछि माधव समूहमा रहेका नेताहरुसँग एक्लाएक्लै बालुवाटार बोलाएर छलफल गरिरहेको बालुवाटार निकट स्रोतले जनाएको छ। अध्यक्ष ओलीले एकातिर स्पष्टीकरण सोध्ने र अर्कोतर्फ बालुवाटार बोलाएर छलफल गर्ने दोहोरो रणनीति लिएका छन्। माधव समूहका २७ जना सांसदहरुलाई मंगलबार स्पष्टीकरण सोधिएको थियो। सो स्पष्टीकरण सोधिएपछि एमाले विभाजनको डिलमा पुगेको विश्लेषण हुन थालेको छ।
उता माधव समूह भने कारबाही रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेको छ। अधिवक्ताहरु शम्भु थापा, टिकाराम भट्टराई र गोविन्द बन्दीहरुलाई यो विषयमा माधव समूहले जिम्मेवारी दिएको एक नेताले जानकारी दिए।
माधव समूहले केन्द्रदेखि जिल्लासम्म समानान्तर समिति बनाएर गतिविधि गरिरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment