ओली–नेपाल वार्ताः नेपालले उठाए फागुन २८ को विषय
काठमाडौं। एमाले पुनर्जीवित भएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सबैभन्दा विवाद निम्त्याएको घटना हो फागुन २८ को बालुवाटार बैठक। सर्वोच्च अदालतको फैसलापछि पेरिस डाँडामा बैठक गरेर माधव समूहले प्रचण्डसँगको सम्बन्ध त्याग्ने र एमालेमा क्रियाशील हुने निर्णय लिएको थियो।
तर, जब फागुन २८ मा ओलीले आफू निकट नेताहरुको बालुवाटारमा बैठक बोलाएर वरिष्ठ माधव समूहका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरे एमालेको विवाद चर्कियो।
विवादको केन्द्रमा रहेको यही फागुन २८ को विषय अहिले अध्यक्ष तथा ओली र वरिष्ठ नेता नेपालबीच भएको वार्तामा उठेको छ। दुई नेताबीच बुधबार र बिहीबार होटल मेरियटमा वान टु वान छलफल भएको छ। यो छलफलमा वरिष्ठ नेता नेपालले फागुन २८ को निर्णय सच्याउनुपर्ने विषय राखेका छन्।
बिहीबारको छलफलपछि नेता नेपालले आफू निकट नेताहरुलाई आफूले ओलीसँग २८ फागुनको विषय उठाएको तर, ओलीले स्पष्ट जवाफ नदिएको ब्रिफिङ गरेका छन्। नेता नेपाल निकट स्रोतका अनुसार बुधबारभन्दा बिहीबारको वार्ता विषय केन्द्रित रहेको नेता नेपालको भनाइ छ।
उता वालुवाटार स्रोतले पनि बिहीबारको वार्ता सकरात्मक दिशामा अगाडि बढेको जनाएको छ। प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘बुधबारभन्दा बिहीबारको वार्ता सकरात्मक छ। अब हुने बैठकमा विषय अझ स्पष्टसँग उठ्छ।’
अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच फेरि अर्को चरणको वार्ता हुने जनाइएको छ। बिहीबारको वार्ता विषयमा प्रवेश गरेकाले अब दुबै नेता आवश्यक तयारीपछि वार्तामा बस्ने जनाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment