निषेधाज्ञामा उद्योग खोल्न छुट
काठमाडौं। पूर्ववर्ती निर्णय अनुसार काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि निषेधाज्ञा जारी भएको छ। उपत्यकाका तीनवटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश अनुसार बिहीबार बिहान ६ बजेबाट निषेधाज्ञा जारी भएको हो।सोही कारण काठमाडौं सुनसान जस्तै भएको छ।
कोरोना संक्रमण तिव्ररुपमा समुदायस्तरमा फैलिन थालेपछि सरकारले अत्याआवश्यक बाहेकका सबै पसल तथा व्यावसाय बन्द गर्न निषेधाज्ञाको घोषणा गरेको छ। तर, निषेधाज्ञाको समयमा पनि उद्योग सञ्चालन गर्न पाइने भएको छ।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग सचिव अर्जुन पोख्रेल, वाणिज्य सचिव दिनेश भट्टराई, काठमाडौं, भक्तपुर र ललितपुर गरी तीन वटै जिल्लाका सीडीओ तथा उद्योग वाणिज्य क्षेत्रका संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिबीच भएको छलफलपछि यस्तो सहमति भएको हो।
जसमा अत्यावश्यकीय वस्तु उत्पादन गर्ने उद्योगका कर्मचारीको आवगमनका लागि सम्बन्धित उद्योगले जारी गरेको परिचय पत्रसँगै उक्तउद्योगले निषेधाज्ञा अवधिभर काम गर्न लगाइएको व्यहोराको आधिकारिक पत्र समेत कर्मचारीलाई उपलब्ध गराउनुपर्नेछ। उक्त उद्योगका कर्मचारीले परिचय पत्र र उक्त पत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।
यस्तै अत्यावश्यकीय वस्तु बाहेकका उद्योगले सञ्चालन गर्न चाहेमा अनुमतिका लागि उद्योग विभागमा निवेदन दिनुपर्नेछ।
उक्त निवेदनका आधारमा उद्योग विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई उद्योग सञ्चालन र कर्मचारीको आवागमनका लागि अनुमति प्रदान गर्न पत्र पठाउनेछ।
त्यस्तो पत्रमा उद्योग विभागको सिफारिसमा उक्त उद्योग सञ्चालनमा आएको र सम्बन्धित कर्मचारी संलग्न भएको उल्लेख गरेको हुनुपर्नेछ । त्यस्ता उद्योगमा काम गर्ने कर्मचारीले उक्त पत्र र उद्योगको परिचय पत्र देखाएर आवतजावत गर्न सक्नेछन्।


No ads found for this position


डिसी नेपाल
Facebook Comment