जसपा नेपालद्वारा लुम्बिनीका ४ सांसद र जनप्रतिनिधिसहित दर्जनौं नेता निष्कासित
काठमाडौ। जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यका साथै स्थानीय तहका जनप्रतिनिधि र पार्टी कार्यकर्ताहरूलाई साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ।
भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त कारबाहीको निर्णय गरेको हो।
पार्टी नीति र निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा सहभागी भएको भन्दै प्रदेश सभा सदस्यहरू सन्तोष कुमार पाण्डेय, हेमा बेल्वासे, भण्डारीलाल अहिर र आदेश कुमार अग्रवाललाई निष्कासन गरिएको हो।
त्यसैगरी पार्टी सिद्धान्त र अनुशासन उल्लंघन गरेको आरोपमा स्थानीय तहका जनप्रतिनिधिहरू पनि कारबाहीमा परेका छन्। निष्कासित हुनेहरूमा लहान नगरपालिकाका उपप्रमुख राम चलित्तर महतो, विभिन्न वडाका अध्यक्षहरू रमेशकुमार यादव, विजयकुमार महतो, प्रकाशमान श्रेष्ठ, शम्भु कुमार व्यार, मो. मुस्तकिम र किस्मत राई रहेका छन्।
साथै प्रदेश सभा सदस्य निर्मला तावा, खोटाङका जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, माम्सेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्वाङ, केपीलासगढीका उपाध्यक्ष गुरुराज राई लगायत दर्जनौँ वडा अध्यक्ष तथा सदस्यहरूलाई समेत निष्कासन गरिएको छ।
यसैबीच, जसपा नेपालको उक्त बैठकले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा पुनर्स्थापना स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment