अपर म्याग्दी-१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’, समग्र भौतिक प्रगति ५६ प्रतिशत
म्याग्दी। ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) भएको छ।
म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको यस आयोजनाको धवलागिरि गाउँपालिका-४ छहरीस्थित अडिटदेखि मालिका गाउँपालिका-७ भारवाङमा निर्माणाधीन विद्युत्गृहतर्फ जोड्ने सुरुङ जोडिएको हो।
आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार अडिटदेखि बाँधतर्फ जोड्ने २,५०६.३९ मिटर लामो सुरुङ ब्रेक थ्रु भएको छ।
छहरीको अडिटदेखि धवलागिरि-४ खाम्लास्थित बाँधतर्फको ३,२८३.३२ मिटर सुरुङमध्ये हालसम्म १,९७३ मिटर निर्माण सकिसकेको र बाँकी भाग पनि आगामी केही महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो।
हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ५६ प्रतिशत पुगेको छ। आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ बाँध, सुरुङ, विद्युत् गृह, हाइड्रो र इलेक्ट्रोमेकानिकलतर्फका काम तीव्र पारिएको छ।
२०८० चैत १९ मा सम्झौता भई २०८१ भदौदेखि मुख्य सुरुङ निर्माण सुरु गरिएको थियो। यद्यपि बर्खायाममा बेनी–दरबाङ सडकको फापरखेत पहिरो र दुखुखोला तथा शिवरात्रिखोला सडक पुलका कारण आयोजना निर्माणमा केही असर परेको छ।
सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको सेयर गरी कुल ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँ लगानीमा यो आयोजना निर्माण भइरहेको छ।
‘रन अफ द रिभर’ प्रकृतिको यस आयोजनाबाट उत्पादित बिजुली भारवाङदेखि १.५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको डाँडाखेतस्थित सबस्टेसनमा जोडिनेछ।
यस आयोजनाबाट वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ। ऊर्जा डेभलपर्स प्रालिसँग आबद्ध यस आयोजनाको परामर्शदाता ऊर्जा इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सोलुसन्स प्रालि रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment