‘लुम्बिनी प्रदेशमा एमालेकै एकल सरकार बन्छ, बिमला खत्री एमालेमै छिन्’
काठमाडौं। लुम्बिनी प्रदेशकी प्रदेशसभा सदस्य बिमला खत्रीले नेकपा माओवादी केन्द्रको प्रदेश संसदीय दलको सदस्यता पाउँ भनी दिएको निवेदन भाइरल भइरहेका बेला नेकपा एमालेका एक उच्च तहका नेताले भने सांसद खत्री एमालेमै रहेको दावी गरेका छन् । उनले बाहिर सांसद खत्री माओवादी प्रवेश गरेको भनी फैलाइएको हल्ला निराधार भएको भन्दै खत्री आफूहरुको सम्पर्कमै रहेको दावी गरे ।
‘त्यो पत्र तीन हप्ताभन्दा पहिलेको हो । त्यसपछि हाम्रो १६ पटक बैठक बसिसकेको छ । हरेक बैठकमा उहाँ सहभागी हुनुहुन्छ र उहाँको हस्ताक्षर पनि छ’ ती नेताले डिसीनेपालसँग भने ‘उहाँ अहिले पनि हाम्रो सम्पर्कमै हुनुहुन्छ । उहाँले पार्टी परित्याग गरेर अर्को पार्टी प्रवेश गरेको होइन ।’ ती नेताले सांसद खत्री अहिले पनि आफूहरुसँगै रहेकोले लुम्बिनी प्रदेशमा एमालेको एकल बहुमतको सरकार गठन हुने दावी गरे । उनले प्रदेशसभा विघटन पनि नहुने दावी गरे ।
अहिले माओवादी प्रवेश गरेकी भनिएकी सांसद खत्री दाङ क्षेत्र नं. ३ (ख) बाट निर्वाचित भएकी हुन् । त्यहाँ पहिले उनकै श्रीमान उत्तरकुमार वली सांसद थिए । वलीको दुर्घटनामा निधन भएपछि सोही स्थानमा उपचुनाबमा खत्रीले जितेकी हुन् । वली नेकपा एमालेको तर्फबाट सांसद थिए । तर, खत्री निर्वाचित हुने बेलामा भने एमाले र माओवादी एकीकरण भएर नेकपा बनिसकेको थियो । खत्रीले नेकपाको तर्फबाट सूर्य चुनाव चिन्हमा चुनाव जितेकी थिइन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment