एनआरएनए र सगुनबीच समझदारी पत्रमा हस्ताक्षर, कल्याणकारी परियोजनाहरुमा सहकार्य गर्ने सहमति

डिसी नेपाल
१२ असार २०७८ ८:१३

वासिङ्गटन डिसी, अमेरिका । गैर आवासीय नेपाली संघ (nrna.org)  तथा अमेरिकामा स्थापित सामाजिक सञ्जालमा आधारित इकमर्स कम्पनी सगुन (saoon.com)  बीच आपसी सहकार्य गर्ने बारे एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको  सगुन र एनआरएनएले संयुक्तरुपमा हालै जारी गरेको प्रेस वक्तव्यमा जनाइएको छ।

प्रेस वक्तव्यमा जनाइए अनुसार दुवै संस्थाहरुले कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्न दुवै संस्थाहरु सहमत भएका छन्।

अमेरिका जस्तो अत्यन्त कडा प्रतिस्पर्धा रहेको सूचना प्रविधि क्षेत्रमा आफूलाई स्थापित गरेर नेपाल, भारत लगायतका देशरुहरुमा आफ्नो सेवा विस्तार गरेको सगुनसँग विश्वका ८२ मुलुकहरुमा फैलिएको एनआरएनएले सहकार्य गर्न पाएकोमा एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले खुशी लागेको बताएका छन्।

त्यसैगरी सगुनका संस्थापक गोविन्द गिरीले पनि एनआरएनएसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै सगुनको यात्रमा प्रवासी नेपालीहरुले देखाएको माया, सहयोग र साथका लागि आभारी रहेको र एनआएरएनए मार्फत मिलेर काम गर्दा दुवै संस्था मार्फत सबैका लागि हितकारी हुने कुरा बताएका छन्।

अमेरिकाको सेक्युरिटी एक्सचेञ्ज कमिसनबाट स्विकृत पाएर सन् २०१५ मा औपचारिकरुपमा शुरु भएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन्।  सगुनको प्लेटफर्मबाट यसका प्रयोगकर्ताहरुले आफ्ना कथा, फोटो र भिडियो शेयर गर्नसक्छन् भने मुड टकबाट साथीहरुसँग कुराकानी गर्न सक्छन्।

साथै सगुन प्रयोग गरेका आधारमा उनीहरुले ‘स्मार्ट क्वइन’ कमाउन सक्छन् जुन आफू वा आफ्ना परिवार वा साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्ने कुरा सगुनले जनाएको छ।

हाल सगुन एपमा आफ्ना रुचि अनुसारका विषय छान्न सकिने ‘सगुन स्टोरी’, र आफ्नो मनस्थिति अनुसारको संकेत चिन्ह पठाई कुरा गर्न सकिने ‘मुड टक’ जस्ता विशेष फिचरहरु उपलब्ध छन् भने यसरी सगुन प्रयोग गरेबापत प्राप्त हुने स्मार्ट क्वइन ‘सोसियल स्मार्ट कार्ड’ मा देख्न सकिने व्यवस्था रहेको छ।

सगुनका अनुसार हालसम्म ६.६ मिलियन प्रयोगकर्ताहरुले १७ मिलियन पटक सगुन एक लञ्च गरेका छन् भने प्रतिदिन औसत ४ लाख मानिसहरुले सगुनमा पोस्ट भएका ७ लाख पोस्टिङहरु हेर्ने गरेका छन्। त्यसैगरी हालसम्म प्रयोगकर्ताहरुले १.७ बिलियन स्मार्ट क्वइन कमाइसकेका छन् जसमध्ये ५ सयम मिलियन क्वइनहरु किनमेलमा खर्च गरेको र ४३ मिलियन क्वाइनहरु आफन्त÷परिवारलाई उपहार पठाउन खर्च गरेका छन्।

शुरुमा दक्षिण एशियामा आफ्नो बजार विस्तार गर्दै विश्व सामु पुग्ने लक्ष्य राखेको सगुनले प्रयोगकर्ताहरुको सँख्यालाई सन् २०२३ सम्ममा ६१ मिलियन र सोही समयसम्म आफ्नो आम्दानीलाई बढाएर वार्षिक १२६ मिलियन डलर पुर्‍याउने लक्ष राखेको सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले बताएका छन्।

विश्वभरि छरिएर रहेका नेपालीहरुलाई सामाजिक रुपमा एकताबद्ध गर्ने अभियानमा लागेको एनआरएनए र सामाजिक सञ्जाल र आर्थिक पक्षबाट एकताबद्ध गर्ने अभियानमा लागेको सगुनकाबीच भएको सहकार्यको यो सहमतिले नेपाल बाहिर बस्ने नेपालीहरुको साथमा जन्मभूमि नेपालमा समेत विशेष योगदान हुनसक्ने बाटो अझ फराकिलो भएको बताउँदै सगुनका सहसंस्थापक सिटौलाले सगुनले आफ्नो एपमा हालसालै विकास गरेका नवीनतम फिचरहरु प्रयोग गरेर यसको अनुभूति लिन समेत अनुरोध गरेका छन्।

थप जानकारीका लागि

www.nrna.org

www.sagoon.com




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *