चीनको सिनोफार्मसँग भेरोसेल खोप खरिदका लागि सम्झौता, असार २४ गतेदेखि आपूर्ति हुने
काठमाडौं । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप खरिदका लागि चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग सम्झौता गरेको छ ।
सम्झौताअनुसार असार २४ गते बाट खोप साप्ताहिक रुपमा विभिन्न चरणमा आपूर्ति गर्ने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पहिलो खेपमा असार २४ गते नेपाल वायुसेवा निगमको जहाजले चीनबाट १० लाख डोज खोप ल्याउने तयारी गरेको छ।
खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुचारु हुने पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसका साथै गाभी कोभ्याक्स फ्यासिलिटीबाट पनि छिट्टै खोप प्राप्त गरी कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको विस्तार हुने मन्त्रालयले जानकारी दिएको छ ।
यही असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा प्रदान गरिँदैछ । हालसम्म कूल ४२ लाख ४८ हजार मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ भने आजसम्म जनसंख्याको २५ लाख ७४ हजार ७१५ (९ प्रतिशत) ले पहिलो मात्रा र ७ लाख ५७ हजार ३८० जनाले (३ प्रतिशत) ले दोस्रो मात्रा कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेका छन् ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment