उपत्यकालगायत देशका विभिन्न भागमा निरन्तरकाे वर्षाले जनजीवन प्रभावित
काठमाडाैं। काठमाडौँ लगायत देशका विभिन्न भागमा परेको बर्षाले जनजीवन प्रभावित भएको छ। देशका नदीहरुमा पानीको बहाव बढ्दै गएको छ। विज्ञहरुले नदी किनारा आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह समेत गरेको छ।
महाशाखाद्वारा प्रकाशित हुने बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रही प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा धेरै भारी बर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू–भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ३४ जनाको मृत्यु भएको छ। अन्य २४ बेपत्ता रहेका र ४४ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मृत्यु हुनेमा १९ पुरुष, नौ महिला र छ बालबालिका रहेका छन्।
ती मध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पामा तीन, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुई/दुई तथा ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक/एक जना रहेका छन्।
बाढी, पहिरो र डुबानमा परी २४ पुरुष, ११ महिला, छ बालक र तीन बालिका घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यस्तै बाढी र पहिरोमा १५ पुरुष, छ महिला, दुई बालक र एक बालिका बेपत्ता भएका छन्। सिन्धुपाल्चोकमा २०, चितवनमा तीन र बाजुरामा एक जना बेपत्ता भएका हुन् छन्। बेपत्ताको खोजी जारी रहेको जनाइएको छ। बाढी तथा पहिरोमा परेका एक हजार २५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ।







डिसी नेपाल








Facebook Comment