बाढी पहिरोले अवरुद्ध राजमार्गहरुमा एकतर्फी यातायात सञ्चालन

डिसी नेपाल
१९ असार २०७८ १८:४९
120
Shares

काठमाडौं । निरन्तरको वर्षातसँगै झरेको पहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गहरु खुल्न थालेका छन्।

विभिन्न स्थानमा खसेको पहिरो पन्छाएसँगै पृथ्वी राजमार्गको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएको छ।

पहिरोका कारण रोकिएका सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

चारकिलो, पाँचकिलो, जलबिरे, सेती दोभानमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको हो।

सो सडक क्षेत्रमा बिहीबारदेखि पटक पटक पहिरो खस्ने र पन्छाउने कार्य जारी छ। पहिरोका कारण बिहीबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्रै सञ्चालनमा आएको सो सडकखण्ड दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने कार्यालयले जनाएको छ।

यस्तै धादिङको बेनीघाट रोराङ गाउँपालिका—१० स्थित जवाङमा सवारी साधन क्षति पुर्‍याउने गरी आएको पहिराले अवरुद्ध राजमार्गको धादिङ खण्ड पनि एकातर्फी रुपमा सञ्चालनमा आएको छ। शुक्रबार रातिदेखिको पहिराले राजमार्गको ठाउँठाउँमा पहिरो झरेर अवरुद्ध भएको थियो ।

उता वीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका वडा नं १२ मान्ती भन्ने स्थानमा खसेको पहिरोका कारण अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ।

लेदो माटो झरेर अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएसँगै सञ्चमलनमा आएको काभ्रे जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए।

यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरारीको गैडाकोट दुम्कीबास खण्डमा अवरुद्ध सडक पनि सञ्चालनमा आएको छ। अस्थायी डाइभर्सन निर्माण गरी सडक सञ्चालनमा ल्याएको नवलपरासी (पूर्व) जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.