चार चिनियाँ पक्राउ
काठमाडौँ । दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा चार चिनियाँलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१७ ज्याठास्थित जियाङ्यु खाजन होटलबाट गए राति पक्राउ परेका उनीहरूलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँ बालुवाटार बस्ने चीन युनान प्रान्तका जिउ पियुचिङ, काठमाडौँ ठैटी बस्ने चीन हुबे प्रान्तका जिङविङ, हेनान प्रान्ताका निउ युङ र जुआङगदोञ्ज प्रान्तका पियुङ हुई रहेका छन् ।
काठमाडौँ महानगरपालिका–१७ ज्याठामा चिनियाँ नागरिक जम्मा भई सम्पत्ति हारजित हुने गरी जुवातास सट्टाबाजी खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको आज पत्रकार सम्मेलन गरी जनाइएको छ ।
सोही क्रममा दुर्भल वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार र सम्पत्ति हारजित हुने गरी जुवातास सट्टाबाजी खेली खेलाइरहेको फेला परेको प्रहरीले जानकारी दिएको छ । उनीहरूको साथबाट नगद रु आठ लाख ८९ हजार, जुवातास खेल्न प्रयोग गरेको दुई थान विद्युतीय टेबल, जुवातास खेल्न प्रयोग हुने ४१० थान प्लाष्टिकको गोटी, सात थान मोबाइल, एक थान बाघको छालाजस्तो देखिने वस्तु, २० थान गाईको छालाजस्तो देखिने वस्तु र २० थान कस्तुरीको बिनाजस्तो देखिने वस्तु फेला परेको छ ।
यस्तै ९०० थान बुद्धचित्त, करिब २० किलो रुद्राक्ष, विभिन्न चिनियाँ बैंकको ३५ थान एटिएम कार्ड, २५० थान भौचर (लेखिएको), ६८ थान भौचर (नलेखिएको), दुई थान बाघको दाँतजस्तो देखिने वस्तु, दुई थान खुकुरी र एक थान तरबार पनि बरामद गरिएको छ । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment