ओलीले बोलाए केन्द्रीय कमिटी बैठक
काठमाडौं। नेकपा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन्। मंगलबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको हो। एक केन्द्रीय सदस्यले एजेण्डा उल्लेख नगरी केन्द्रीय कमिटी बैठकमा आउन भनदै एसएमस आएको जानकारी दिए।
विवाद समाधानका लागि गठन गरिएको सँयुक्त कार्यदलमा सहमति नजुटिरहेका बेला अध्यक्ष ओलीले माधव नेपाल समूहको सहमति बिना नै केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा आइतबार बिहानदेखि नै जारी छ।
शनिबार सहमति भइसकेको भनिए पनि आइतबार १० घण्टाभन्दा लामो बैठकमा सहमति हुन सकेको छैन। सहमति नहुँदै अध्यक्ष ओलीले एकतर्फी रुपमा केन्द्रीय कमिटी बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ।
प्रतिनिधिसभा विघटनबारे र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा सोमबार फैसला आउने सम्भावना छ। सो रिटमाथिको बहस सकिसकेको छ। सोमबारका लागि पेशी तोकिएको छ। सो रिटमा माधव समूहका २३ जना सांसदकोसमेत हस्ताक्षर छ। सर्वोच्चको फैसला आउनु अगावै एमालेको मिलेको सन्देश दिने अध्यक्ष ओलीको रणनीति भए पनि हालसम्म सो सफल हुन सकेको छैन।
आइतबार अपरान्ह ४ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकसमेत अन्तिम समयमा स्थगित गरिएको छ। ओलीले स्थायी कमिटी बैठक पनि एकतर्फी रुपमै बोलाएका थिए। तर, बैठक नै नबसी सोमबारसम्मका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment