प्रस्तावित निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको संसदीय सुनुवाइ आज हुँदै

डिसी नेपाल
१२ साउन २०८३ ६:३५

काठमाडौं। निर्वाचन आयोगको निर्वाचन आयुक्तमा सिफारिस भएका गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको संसदीय सुनुवाइ आज हुँदैछ।

सिंहदरबारमा बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित दुवै आयुक्तको कार्ययोजना सुन्ने र सुनुवाइ प्रक्रिया अघि बढाउने कार्यसूची रहेको छ।

संवैधानिक परिषद्को गत असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा ओखलढुंगाका गुरुप्रसाद वाग्ले र काठमाडौंका डा. राजीव सुब्बालाई सिफारिस गरेको थियो।

समितिको तय कार्यक्रमअनुसार आयुक्त पदका उम्मेदवारद्वयको आज (साउन १२) र प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको भोलि (साउन १३ गते) सुनुवाइ हुनेछ।

आयुक्तमा सिफारिस हुनुभएका डा. राजीव सुब्बा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुन् भने गुरुप्रसाद वाग्ले पूर्व उपन्यायाधिवक्ता हुन्। तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको पदावधि सकिएसँगै आयोग प्रमुखविहीन बनेको थियो।

प्रस्तावित तीनै जनाको नाम स्वीकृत भई नियुक्ति भएमा निर्वाचन आयोगले पूर्णता पाउनेछ। संसदीय सुनुवाइ समितिले सर्वसम्मत वा दुई-तिहाइ बहुमतले नाम अस्वीकृत नगरेमा सिफारिस भएका व्यक्तिहरू अनुमोदन हुने संवैधानिक व्यवस्था छ। समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *