मूल्यवृद्धि बढ्दो
काठमाडौं। नेपाल राष्ट्र ब्यांकले बिहीबार प्रकाशित गरेको नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार, चालू आर्थिक वर्षको जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ४.१९ प्रतिशत पुगेको छ। गत वैशाखमा यस्तो मूल्यवृद्धि ३.६५ प्रतिशत थियो।
जेठमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य ६.२२ प्रतिशतले बढेको छ। यसमध्ये पनि सबैभन्दा धेरै घ्यू–तेलको मूल्य गत वर्षको तुलनामा करीब ३१ प्रतिशतले बढेको छ। अन्तर्राष्ट्रिय बजारमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले बजार मूल्य बढेको व्यवसायीहरूले बताउँदै आएका छन्।
जेठमा मासु र तरकारीको मूल्य करीब ८–८ प्रतिशतले र चिनीको मूल्य ५.२ प्रतिशतले बढेको छ। तर, मसलाको मूल्य भने करीब ९ प्रतिशतले घटेको छ।
यस्तै बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ११ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ६.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको २.६३ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा २०७८ जेठमा घ्यू तथा तेल, सुर्तिजन्य पदार्थ, गैर–मदिराजन्य पेय पदार्थ र यातायात उपसमूहको मूल्यवृद्धि क्रमशः ३०.९८ प्रतिशत, ९.८४ प्रतिशत, ९.८१ प्रतिशत र ९.७० प्रतिशत रहेको छ।
गत जेठमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोड रुपैयाँले बचतमा थियो। चालु आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्समार्फत ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ भित्रिएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो १२.६ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३.२ प्रतिशतले घटेको थियो।







डिसी नेपाल








Facebook Comment