उद्योग वाणिज्य महासंघको निर्वाचन तयारी पूरा: ७३ पदका लागि १३७ उम्मेदवार चुनावी मैदानमा

डिसी नेपाल
२० वैशाख २०८३ १०:४८

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। आगामी वैशाख २१ र २२ गते काठमाडौंमा आयोजना हुने यस साधारणसभाले महासंघको आगामी नेतृत्व चयन गर्नेछ।

महासंघको सचिवालयका अनुसार कुल ७३ वटा पदका लागि १३७ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। महासंघको विधानमा रहेको व्यवस्थाअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्नेछन्।

बाँकी रहेका वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र अन्य सदस्य पदका लागि भने निर्वाचन हुनेछ। कार्यक्रम तालिकाअनुसार वैशाख २१ गते ललितपुरस्थित होटेल रोयल टुलिपमा साधारणसभाको उद्घाटन गरिनेछ भने २२ वैशाखमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान प्रक्रिया सञ्चालन हुनेछ।

यस पटकको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि हेमराज ढकाल र सुरकृष्ण वैद्य प्यानलसहित कडा प्रतिस्पर्धामा देखिएका छन्। ढकाल समूहलाई वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन रहेको छ भने वैद्य समूहलाई आगामी अध्यक्ष अञ्जन श्रेष्ठको साथ रहेको चर्चा उद्योगी व्यवसायी वृत्तमा छ।

महासंघका अनुसार यस निर्वाचनमा देशभरका कुल २ हजार १५३ मतदाताले मतदान गर्नेछन्। मतदाताको संख्याका आधारमा सबैभन्दा धेरै एसोसिएटतर्फका सदस्यहरू सहभागी हुनेछन्। महासंघको निर्वाचनलाई निजी क्षेत्रको ‘कुम्भ मेला’ का रूपमा लिइने हुनाले यसलाई निकै चासोका साथ हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *