प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाउँदै सशस्त्रका सिपाहीको खुला पत्र
सम्माननीय प्रधानमन्त्रीज्यू
जय नेपाल।
प्रधानमन्त्रीज्यू म एक सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सिपाही आज सार्वजनिक माध्यमबाटै तपाईंलाई यो पत्र लेख्दैछु। तपाईँलाई प्रत्यक्ष भेट्नका लागि त प्राय असम्भव नै छ किनभने तपाईँ व्यस्त हुनुहुन्छ र फेरि तपाईँलाई भेट्ने पहुँच म राख्दैन।र तपाईँलाई भेट्नु मलाई आवश्यक पनि रहेन । त्यसैले यो नै विकल्प उत्तम ठाने मैले।
प्रधानमन्त्रीज्यू, लाग्छ उमेरका कारण तपाईँ लाई त्यति याद भएन होला जुन बेला देशमा सशस्त्र द्वन्द उत्सर्गमा पुगेको थियो दैनिक नेपालीहरूले ज्यान गुमाइराख्नु परेको थियो। त्यतिबेला स्थापित सशस्त्र प्रहरी बलमा म जस्ता हजारौं सिपाहीहरुले आफ्नो ज्यानको प्रवाह नगरी यो संगठनमा पारिवारिक अवरोधका बावजुद जोडिन पुग्यौ। संगठनले विभिन्न आरोह अवरोहहरू पार गर्दै एउटा लय लिँदै आइरहेको थियो ।
तपाईँको नेतृत्वमा सरकार बनिरहँदा हामीले धेरै अपेक्षा गरेका थियौँ। अब संगठन प्रणालिगत रुपमा चल्छ, सरुवा बढुवामा अनावश्यक दाबाब र हैरानी हुने हुंदैन, सबै तिर सकारात्मक र राम्रो हुन्छ भन्ने ठानेका थियौं । त्यही भएर चुनावको बेला इष्टमित्र, आफन्त,साथीभाइलाई यहाँको पक्षमा घन्टीमा भोट हाल्न जोडबल पनि गर्यौ। तर सशस्त्र प्रहरी बलको भर्खरै डिआइजी र एसएसपी मा गरिएको पदोन्नति लाई हेर्दा अब त्यो आशा गर्ने ठाउँ पक्कै रहेन।
हुन त म न अहिले डीआइजी हुने हो, न एसएसपी हुने हो यसमा मैले चासो नगर्दा पनि हुन्थ्यो तर एक इमानदार राष्ट्रसेवकको हिसाबले संगठनको भलाईको लागि केही गर्नु पर्छ भन्ने ठानेर हजुरलाइ पत्र मार्फत यथार्थ जानकारी गराउनु कर्तव्य ठानी यो वास्तविक सत्यता हजुर सामु ल्याउने प्रयास गरेको छु । यसपटक जसरी पदोन्नति गरियो यसले समग्र संगठनलाई ध्वस्त पार्दैछ र व्यापक असन्तुष्टिहरू संगठनभित्र चुलिँदै गइरहेका छन्। तसर्थ म पनि यही संगठनमा दुई दशकभन्दा बढी पसिना रगत बगाएको नाताले संगठनमा थप संकट आउनबाट रोक्न सकिन्छ कि भन्ने मेरो पनि दायित्व बोध गरेर यो पदोन्नतिका बारेमा यथार्थ विषयवस्तु राख्दैछु।
प्रधानमन्त्रीज्यू, दुई दशकभन्दा लामो मेरो पेशागत जीवनमा अहिले तपाईंको नेतृत्वमा भएको सरकारले गरेको डीआइजी र एसएसपी को पदोन्नतिले संगठनको आन्तरिक सुदृढीकरण तथा समग्र जीवनमा ठूलो प्रश्न उब्जाएको छ। समस्त सशस्त्र प्रहरी बलका राष्ट्र सेवकहरूमा नैरास्यता मात्र होइन एक खालको आक्रोश समेत सिर्जना भएको छ। फौजी मूल्य मान्यतालाई विश्वास गर्नेभएकोले एक आपसमा असन्तुष्टि व्यक्त गर्दै बसिराखेका छन्। यदि अन्य संगठनमा भएको भए आज सडकमा नारा जुलुस गर्दै हुने थियौं।
प्रधानमन्त्रीज्यू ,तपाईँको नेतृत्वमा सरकार बनेपछि सम्पूर्ण गतिविधिहरू नियम कानुन सम्मत चल्छन् भन्ने हामीलाई विश्वास थियो। तर विगतका सरकारहरुले बरु संगठनको ऐन नियम नियमावलीहरुलाई टेकेर सरुवा पदोन्नति गरेको देखियो। तर तपाईंको नेतृत्वमा भएको सरकारले सशस्त्र प्रहरी ऐन नियमावलीमा भएको व्यवस्थालाई धज्जी उडाउँदै आफ्नो पकेटबाट नियम निकालेर आफू खुसी नातावाद कृपावादलाई प्राथमिकतामा राखेर पदोन्नति गराउने काम भयो भन्ने संगठनको भलो चाहने हामी राष्ट्रसेबक हरुको बुझाइ छ। सुन्नमा आए अनुसार प्रधानमन्त्रीज्यू त्यसमा तपाईंको प्रत्यक्ष संलग्नता रह्यो। तपाईंले एकतर्फी रुपमा तपाईँ समक्ष आइपुगेका भनिएका एक दुई जना व्यक्तिहरूको कुरा सुनेर त्यसलाई नै रामबाण सम्झी उहाँहरुले माग गरे अनुसारै नियम बनाइदिनुभयो। यसले हामी अत्यन्त चिन्तित छौँ।
प्रधानमन्त्रीज्यू,म तपाईँलाई सत्य तथ्य के हो बुझेसम्म जानकारी गराउने प्रयास गर्छु। अहिले डिआइजी,एसएसपी हुने सबै सरहरू २०५९ साल मा सशस्त्र प्रहरी निरीक्षकको रुपमा संगठनमा प्रवेश गरेका थिए। प्रवेशसँगै आधारभूत तालिम सम्पन्न भयो र तालिममा गरेको कामका आधारमा उहाँहरूको मर्यादाक्रम निर्धारण गरियो र सोही मर्यादाक्रम अनुसारै उहाँहरुले पेशागत जीवन बिताउँदै जानुभयो र २०६३ चैतमा नियमावलीमा व्यवस्था भए अनुसारै मर्यादा जेष्ठताको आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा पदोन्नति हुनुभयो।
२०७२ सालमा नयाँ नियमावली ल्याइयो जसको नियम ४३ मा बढुवाको मापदण्ड र प्रकृयाको बारेमा स्पस्ट ब्यबस्था गर्दै कार्यसम्पादनमा आधारित भई बढुवा गर्नुपर्ने भनी विभिन्न विधाहरु तोकेर अङ्कभार सहित पदोन्नति गर्ने आधार तयार गर्यो। जसअनुसार प्रत्येक वर्ष कार्यसम्पादन मूल्याङ्कन भरिनुपर्ने त्यसकै आधारमा बढुवा गर्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ।। त्यसैलाई आधार बनाएर २०७५ सालमा ३४ जना सोही टोलीका सशस्त्र प्रहरी नायब उपरीक्षकहरू सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भए परिणामस्वरूप विगतको मर्यादाक्रम तलमाथि पर्न गयो यसो हुनुमा नियमावलीले गरेको व्यवस्थानै थियो।
सबै मान्छेहरु राजनीतिक प्रभावले नै मर्यादाक्रममा अगाडि आए भन्नु अनावश्यक प्रचार र व्यक्तिगत स्वार्थ का लागि भनिएका विषयवस्तुहरू हुन। तत्पश्चात् दोस्रो र तेस्रो लटमा गरी अन्य सबै सशस्त्र प्रहरी नायब उपरीक्षकहरू सोही नियमावली अनुसार सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभयो। समयक्रमसँगै २०७८ मा केही सशस्त्र प्रहरी उपरीक्षकहरू सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति हुनुभयो। त्यसमध्ये दुईजना २०८१ चैतमा डीआइजीमा पदोन्नति पनि भइसक्नुभयो।यो टोलीमा मात्र नभई सबै टोलीमा हालसम्म गरेका पदोन्नतिहरू सशस्त्र प्रहरी नियमावलीकै आधारमा कार्यसम्पादनलाई फोकस गरेर हुँदै आएका छन्।
प्रत्येक अधिकृतहरुले आफ्नो पदोन्नतिको सम्भावना आकलन गर्दै सोही अनुरूप कार्यसम्पादन गर्दै आइरहेका छन्।।यसरी पदोन्नति हुँदै गर्दा कुनै पनि अफिसरले आफू अन्यायमा परेको भनेर पदोन्नति बाट असन्तुष्ट भई नियमले दिएको अधिकार प्रयोग गरी पुनरावलोकन समिति तथा अदालतसम्म गएको देखिँदैन। यसको मतलब सबैले गरेको कार्यसम्पादनको आधारमा मूल्याङ्कन भई पदोन्नति भएको कुरालाई स्वीकार गरेको स्पष्ट देखिन्छ। र संगठन पदोन्नतिको मामिलामा एउटा लय समातिसकेको अवस्था थियो। तर यो पदोन्नतिले सम्पूर्णमा एकखालको अन्योल, अस्तव्यस्त र नैरास्यता सिर्जना गरेको छ।
प्रधानमन्त्रीज्यू, सुन्नमा आएको छ तपाईंले दवाब दिएका कारण प्रमोसन सिफारिस भएको यदि सत्य हो भने तपाईंले दबाब दिएका र प्रमोसनको सिफारिसमा पर्न सफल भएका दुई पात्रको बारेमा यथार्थता भन्न चाहन्छु। हुन त मलाई भन्दा हजुरलाई नै उहाँहरूको बारेमा धेरै थाहा होला। त्यही भएर नै उहाँहरु प्रति यहाँको सदासयता हुनुपर्छ भन्ने मेरो बुझाई हो। तर पनि थप स्पष्ट पार्न चाहेँ। तपाईँको दबाबमा डीआइजी बन्न सफल भएका भनिएका एक पात्र हुन् नेत्रबहादुर कार्की।
निज कार्की सशस्त्र प्रहरी बलमा भर्ना हुँदा छनोटमा परेका ७५ मध्ये ६६ नम्बरमा छनोट भएका थिए। तालिममा सधैं ठग्ने विभिन्न बहानामा बिरामी भनी कोठामा बस्ने र लिखित परीक्षालाई ध्यान दिने पात्र हुन् जसको परिणामस्वरूप उनी तालिम पश्चातको मर्यादा क्रममा ७/८ नम्बरमा आउन सफल भए। २०६० साल बाट हालसम्म आइपुग्दा यो २४ वर्षमा उनको पदोन्नतिमा कुनै असन्तुष्टि रहेन। तर जब जेनजी आन्दोलन भयो र सुशीला कार्की सरकारको प्रमुख हुनुभयो त्यसपछि उहाँले आफूलाई अन्याय भएको वकालत गर्दै आउनुभयो। किनकि उहाँ सुशीला कार्कीको आफन्त पर्नुहुन्छ भन्ने सुनिन्छ।र परिणामस्वरूप सुशीला कार्की कै लाइनमा उभिएर नियमावलीको विपरीत गएर प्रमोसन भयो।
प्रधानमन्त्रीज्यु , सशस्त्र प्रहरिमा ६ जना डिआइजी माघमानै खाली थियो । कानुनका जानकार कार्किले त्यस बेला बढुवा गर्दा आफ्ना छुट्ने भएपछी संगठन प्रमुखलाई मेरो कार्यकालमा नियमले नमिल्ने बढुवा नगरिदिनुस् म विवादमा पर्छु, नयाँ सरकार आएपछी जे गर्छ गरोस्, मैले गर्दा नियमले उनिहरु पर्दैनन्, बेकारमा आफन्त संग सम्बन्ध बिग्रन्छ भनी पन्छिएको तर तपाईंलाई यी ब्यक्तिहरु अन्यायमा परेका हुन् जसरी पनि गर्नु पर्छ भनी तपाईं मार्फत कार्कीले आफ्नो स्वार्थ पूरा गरेकी हुन् । सशस्त्र प्रहरी उपरीक्षक हुँदा उहाँ मर्यादा क्रममा पछाडि परेकै हो तर यसको मतलब अरु अगाडि आउनेहरू उहाँले आरोप लगाएजस्तै कमजोर, असक्षम, राजनीतिक दबाब नातावाद, कृपावादबाट आएका भने पक्कै होइनन्।
डीएसपीमा रहँदा १२ वर्षसम्म गरेको कार्यसम्पादनको आधारमा नियमावलीले व्यवस्था गरे अनुसारै छनोट भएर पदोन्नति भएका थिए। सबैलाई उहाँले भने जस्तै एउटै डालोमा हाल्नु उपयुक्त हुने थिएन जुन अहिले आएर गर्नुभयो। प्रधानमन्त्रीज्यू उहाँहरु अन्यायमा पर्नुभएको थियो भने डिएसपीबाट एसपी हुँदा किन न्यायको ढोका ढकढकाउनु भएन, एसपीबाट एसएसपी हुँदा किन न्यायको ढोका ढकढकाउनु भएन, एसपीबाट एसएसपी हुँदा उहाँ आफै शक्ति केन्द्रहरूमा धाएर तत्कालीन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की मार्फत तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई दबाब दिन लगाई उहाँको तत्कालीन मर्यादाक्रमबाट १० पोजिसन अगाडि आउनुभएको हो। र त्यतिबेला त खुसी हुनुहुन्थ्यो त।
प्रधानमन्त्रीज्यू कुनै व्यक्ति पाँच कक्षामा पढ्दा फस्ट होला। तर १० कक्षामा पुगिसकेपछि पनि म पाँच कक्षाको फर्स्ट हो त्यसैले १० कक्षामा पनि मेरो ममर्यादाक्रम एक नै हुनुपर्छ, भन्नु कति उपयुक्त हुन्छ। त्यसका लागि त ५ देखि १० कक्षा आइपुग्दासम्म त्यसरी नै पढ्नुपर्ला नि ? अरुले चिट चोरेर अगाडि आए भन्नु तर्क संगत हुन्छ र ? के अरुले पछाडि उहाँले भन्दा मेहनत गरी पढ्न सक्दैनन् भन्ने हुन्छ र? नहुनुपर्ने हो।के उहाँको कार्यसम्पादनको नम्बर कमी हुनु उहाँका सहकर्मीहरूको दोष हो ? उहाँका सहकर्मीहरूले उहाँको कार्यसम्पादनको नम्बर कम हाल्नु भनेर कम भएको हो ? कि उहाँलाई सहकर्मीहरूले कार्यसम्पादनको नम्बर हाल्न नदिएको हो ?
यस्तो पक्कै होइन, भएको त उहाँले १२ वर्षसम्म डीएसपीको रुपमा काम गर्दा आफ्नो कमान्डरप्रति लोयल नभएको, अनुशासन मा नबसेको सांगठनिक भन्दा व्यक्तिगत कामलाई महत्व दिएको आदि जस्ता कारणले उहाँको तत्कालीन कमान्डरले सोही अनुसार मूल्याङ्कन गर्नुभएको होला नि। १२ वर्षसम्ममा २० जना कमाण्डर हरुसँग बसेर काम गर्नुभयो होला। सबैले उहाँप्रति अन्याय नै गरे होलान् ? बिल्कुल होइन।
अनि त्यो सत्यलाई २४ वर्षसम्म स्वीकार गर्ने र अहिले सुशीला कार्कीको आडमा अस्वीकार गर्ने र अहिले अन्याय मा परे भन्ने कुरा कति सान्दर्भिक छ। अर्को कुरा उहाँले सबैलाई असक्षम विभिन्न राजनीतिक व्यक्तिहरूसँग जोडेर प्रस्तुत गर्नुभएको छ भन्ने सुनिएको छ। हेक्का रहोस् उहाँ आफै तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की मार्फत एसएसपीमा अगाडि आउनुभयो, सरुवाको समयमा मोरङको प्रमुख भएर जानुभयो र त्यहाँ के के गर्नुभयो प्रधानमन्त्रीज्यू एकचोटी विगतका पत्रपत्रिका खोजेर अध्ययन गर्दिँदा राम्रो हुनेथ्यो।
प्रधानमन्त्रीज्यू, उहाँले भनेका कुरामा त तपाईंले एकतर्फी सुन्नुभयो भन्ने छ। संगठन उहाँ एक्लैले चलाउने पक्कै होइन। अन्यका विचारहरु पनि हजुरले एकचोटी सुन्नुपर्थ्यो। तपाईँ हिजोको केपी ओली जस्तो होइन सक्षम अध्ययन गरेको प्रधानमन्त्री हुनुहुन्छ। एउटा जागिरको सुरुवाती चरणमा गरेको आधारभूत तालिम बाट स्थापित मर्यादाक्रम नै पेशागत जीवनभरि कायम रहने हो भने त्यो पछाडि अन्य व्यक्तिहरुले किन अन्य खालका पेशागत तालिमहरु गर्ने, किन संगठनप्रति वफादार, लोयल ,अनुशासित भएर काम गर्ने ? यसो हो भने त कुनै पनि संगठन प्यारालाइज नै हुन्छ नि। त्यही भएर त नियमावलीमा कार्यसम्पादनमा आधारित पदोन्नतिलाई स्थापित गरिएको होला।
एउटै व्यक्ति पनि तपाईंलाई थाहै छ अघिल्लो साल पुरस्कृत हुन्छ दोस्रो साल फेरि कुनै अपराधमा संलग्न पुष्टि भई जेल जान्छ। त्यसैले प्रत्येक वर्ष कार्यसम्पादन मूल्याङ्कन गर्नुपर्छ त्यसकै आधारमा पदोन्नति गर्नुपर्छ भनेर नै नियमावलीमा त्यो व्यवस्था गरिएको होला। किनभने व्यक्ति त समय क्रम अनुसार बदलिँदै जान्छ। उसको कार्यसम्पादन व्यवहार अनुशासन सबै कुरा परिवर्तनशील हुन्छ। त्यसैले २४ वर्ष अगाडि कोही व्यक्ति कुनै पोजिसनमा थियो र आज पनि त्यही पोजिसनमा हुनुपर्छ भन्नु तपाईं जतिको बौद्धिक व्यक्तित्वलाई कसरी लाग्यो ? अरु सबै चोर फटाहा हुन् राजनीतिक आडमा आएका हुन् म चाहिँ इमान्दार असल भएका कारण अन्यायमा परे भन्ने कुरामा कसरी विश्वस्त पर्नुभयो प्रधानमन्त्रीज्यू ?
प्रधानमन्त्रीज्यू, उहाँले आफूले पीएचडी गरेको र अरुभन्दा अब्बल रहेको भनी कुरा गरेको भन्ने पनि सुनियो। त्यो विषयमा मलाई जानकारी रहेन तर सुने अनुसार १० /१२ वर्ष अगाडिदेखि उहाँ पिएचडी गर्न लाग्नुभएको थियो रे त्यो राम्रै हो तर १०/१२ वर्षदेखि सांगठनिक काम कुरोलाई बेवास्ता गर्दै व्यक्तिगत फाइदाका लागि पढ्न जाने व्यक्तिको कार्यसम्पादन मूल्याङ्कन अरुको भन्दा राम्रो कसरी हुन्छ उहाँले त्यो अध्ययनका लागि स्वीकृति लिनुभएको छ कि छैन ? उहाँले सो अध्ययन गरिरहँदा अध्ययन बिदा लिनुभएको छ कि छैन ? प्रधानमन्त्रीज्यू यसको पनि छानबिन होला नि।
प्रधानमन्त्रीज्यू अर्का व्यक्ति हुन्। राजेश उप्रेती जो झापा निवासी हुनुहुन्छ विगतका दिनमा उहाँले तत्कालीन प्रधानमन्त्री केपी ओलीज्यूको आडमा आफ्नो रजाई गर्दै आउनुभयो। धेरै पर जानै पर्दैन केपी ओलीकै पालामा उहाँ धनुषा जिल्लाको प्रमुखमा सरुवा हुनुभयो। त्यसबेला पत्रपत्रिकामा आएका कुरालाई यहाँले अध्ययन गरिदिनुभयो भने हामी आभारी नै हुन्थ्यौ। त्यति टाढा पनि जानु पर्दैन अहिलेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूलाई पनि यस बारेमा स्पष्ट थाहा छ।
अहिलेका महानिरीक्षकज्यू त्यो समयमा मधेश प्रदेशको बाहिनीमा बाहिनीपति हुनुहुन्थ्यो सबै जिल्लाका कमान्डरहरू बाहिनीपति प्रति लोयल भएर काम गरिरहेको बेला राजेश उप्रेती धनुषामा केपी ओलीको ध्वाँस दिएर बाहिनी पतिलाई बेवास्ता गर्दै तस्करीको लाइन चलाइरहेका थिए। तर बिचरा राजु अर्याल दुई तिहाईको सरकारकाको अगाडि विगतलाई सम्झँदै धिक्कार भन्दै आँसु झार्दै उहाँहरुलाई पदोन्नति गर्न विवस हुनुभयो। ती दुबै पात्र संग जागिरको क्रममा म केही युनिटमा संगै बसेको छु । उनिहरुले आफू भन्दा मातहत कर्मचारी माथी गर्ने तुच्छ र खराब व्यबहार हामिले भोगेका छौं ।
राजेश उप्रेती त केपि ओलिकै आडमा सधैं कमान्ड मात्र चहार्दै हिंड्ने ब्यक्ती हुन् । उनी रुपन्देहीमा गणपति भएर जांदा बद्नाम भएको र झापाको एउटै तालिम केन्द्रमा २ पटक सम्म कमान्ड गर्दा समेत बिबादमा परेका ब्यक्ती हुन्। उप्रेतीले त अझ रास्वपा सांसद मनिष झा मेरो क्लासमेट हो , म जे पनि गर्न सक्छु भन्दै हिड्ने गरेको र उनलाइ यस्तै अनर्गल र भ्रामक कुरा लगाएर आफ्नो स्वार्थ पूरा गरेको चर्चा समेत चलेको छ, सत्यता यहाँलाई नै थाहा होला । प्रधानमन्त्रीज्यू यसरी नै संगठन अगाडि बढ्ला भोलिका दिनमा ? हामीले अब काम कसरी गर्ने।
प्रधानमन्त्रीज्यू, नेत्र कार्की र राजेश उप्रेती भन्दा २३ महिना पहिला अहिले पदोन्नतिमा छुटेका एसएसपीहरू पदोन्नति भएका थिए। उनीहरूको चार वर्षको कार्यसम्पादन मूल्याङ्कन भरिसकेको थियो। तर दुई जना २३ महिना पछाडि एसएसपीको दर्जानी चिन्ह लगाएका थिए। र दुई वर्षको मात्र कार्यसम्पादन भरिएको थियो। बढुवाका केही आधार जुन नियमावलीमानै प्रस्ट छ ती कुरा अहिलेको बढुवा संग कहिँ कतै मेल खांदैन । अनि नियमावली भन्दा बाहिर गएर तजबिजी ढंगले हुने बढुवाले भोलिका दिनमा संगठनमा बिकृती ल्याउंछ ।
प्रधानमन्त्रीज्यू विडम्बना त के भयो भने चार वर्षको कार्यसम्पादन मूल्याङ्कनसँग दुई वर्षको कार्यसम्पादन मूल्याङ्कन कसरी तुलना भयो? तुलना मात्रै भएन कसरी अब्बल ठहरियो र बढी नम्बर दिइयो। जबकि चार वर्षको कार्यसम्पादन मूल्याङ्कनको नम्बर ४० हुन्छ। पदोन्नतिमा छुटेका एसएसपीहरूको ४० नम्बर आइरहँदा यी दुई भाइको दुई वर्षको जम्मा २० अङ्क प्राप्त हुन्छ।त्यति मात्र होइन जेष्ठताबापत प्रत्येक वर्ष १.५ नम्बर दिनुपर्ने कानुनी व्यवस्था छ। जसबाट पदोन्नतिमा छुटेका एसएसपीहरूको स्वत ज्येष्ठता बापत ६ नम्बर प्राप्त हुन्छ भने यी दुई भाइको तीन नम्बर प्राप्त हुन्छ।
यसबाट स्पष्ट हुन्छ नियमावलीले गरेको व्यवस्था अनुसार उहाँ हरु कुनै पनि हालतमा पदोन्नतिमा पर्ने आधारै छैन। तर पर्नुभयो किनकि नियम कानुन होइन स्वविवेकी अधिकार बल मिच्याई र सुशीला कार्कीसँगको नेत्र कार्कीको पारिवारिक सम्बन्ध, राजेश उप्रेतीको झापाका तपाईंका चुनावी कमाण्डरसँगको सम्बन्धले काम गर्यो भन्ने सुनिन्छ। प्रधानमन्त्रीज्यू तपाईंप्रतिको हाम्रो सद्भाव विश्वास र अपेक्षा पटक्कै यस्तो थिएन।
अझै रोचक विषय त यो छ कि, सशस्त्र प्रहरी बलका कुनै पनि सदस्य राजनीतिक नेता सँग भेटघाट गर्नको लागि प्रधान कार्यालयको स्वीकृति लिनुपर्छ। तर यिनै दुई पात्र नेत्र कार्की र राजेश उप्रेती संगठनको नीति नियमलाई लत्याउँदै सुशीला कार्कीज्यूकोमा धर्ना दिएको भन्ने सुनियो। त्यति मात्र होइन स्वयं तपाईंलाई समेत भेटेको भन्ने सुन्नमा आएको छ। त्यो विषय तपाईँलाई नै थाहा होला। तर पूर्व गृहमन्त्री सुदन गुरुङ लाई भेटेको भने पक्कै हो। किनकि प्रधान कार्यालयले नै सो बारेमा उहाँ हरु दुवै जनालाई स्पष्टीकरण समेत सोधेको छ।
त्यसका अलावा प्रहरी प्रधान कार्यालयलाई समेत सो बारेमा यथार्थ खुलाइदिन भनी सशस्त्र प्रहरी प्रधान कार्यालयले पत्रचार गरेको कुरा पत्रपत्रिकामा समेत आएकै हो। उहाँहरुले पहिलो र दोश्रो चरणको स्पष्टीकरणको जवाफ समेत लेखी सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा बुझाएको भन्ने सुनिएको छ। यस अर्थमा उहाँ हरु कारबाहीको प्रक्रियामा नै हुनुहुन्छ। प्रधानमन्त्रीज्यू, कारबाहीको प्रक्रियामा रहेको व्यक्ति लाई कसरी पदोन्नति गरी पुरस्कृत गरियो ? सम्पूर्ण सशस्त्र प्रहरी राष्ट्र सेवकहरू अचम्मित परेका छन्।
यो पदोन्नति कागजी रुपमा मिलाउन धेरै किर्ते कामहरू भएको भन्ने सुन्नमा आएको छ त्यसका विरुद्ध पदोन्नतिमा छुटेका एसएसपीहरू अदालतसम्म जाने तयारी गरिराखेको भन्ने सुनिन आएको छ। त्यसो भएको खण्डमा पक्कै पनि सबै यथार्थ बाहिर आउने नै छ। अदालतले न्याय दिनेछ भन्ने आशा उहाँहरुले गर्नुभएको छ।
प्रधानमन्त्रीज्यू, दुई दुईजनाको मात्र विषयवस्तु अब यो रहेन। यहाँ त दोस्रो फेजमा पदोन्नति हुनुभएका एसपीहरू नभएर तेस्रो फेजमा पदोन्नति भएकाहरू अहिलेको एसपीबाट एसएसपी पदोन्नतिमा पर्नुभएको छ। पदोन्नतिमा पर्ने सरहरू समेत योबाट खुसी हुनुहुन्न। खुसी हुनुहुने दुई चारजना ले मात्रै संगठन चल्ने होइन। ठूलो हिस्सा पदोन्नति हुने ,नहुने ,हुनेवाला अथवा माथिल्लो लेभलको प्रमोसनसँग खासै वास्ता नहुने तल्लो लेभल सम्म पनि व्यापक असन्तुष्टि सिर्जना भएको छ। यसले संगठनमा ठूलो बेथिति आउनेवाला छ।तसर्थ यो निर्णय उपर पुनः सोचविचार गरी नियम संगत रुपमा पुन मूल्याङ्कन गरी न्यायोचित रूपमा पदोन्नति गरी समग्र सशस्त्र प्रहरी बल नेपालका राष्ट्र सेवकहरूको मनोबल उच्च राख्न यहाँको पहल हुनेछ भन्ने विश्वास गर्दछु। अन्यथा भोलिका दिनमा सांगठनिक काम कारबाहीमा असर पुग्ने देखिन्छ।
संगठनको भलो चाहने एक सिपाही







डिसी नेपाल







Facebook Comment