कांग्रेस महाधिवेशन : बागमती प्रदेशबाट को–को छन् जिल्ला सभापतिका आकांक्षी?

सम्भव सिंह ठकुरी
४ साउन २०७८ ७:१०
304
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै वडा तहदेखि केन्द्रसम्म सरगर्मी बढ्न थालेको छ। केन्द्रका नेताहरु आफू अनुकूलका नेतालाई जिल्ला सभापति बनाउने कसरतमा लागेका छन्।

यसका लागि नेता कार्यकर्ता केन्द्रीय नेता भेट्न काठमाडौं आउने जाने क्रम निकै बाक्लिन थालेको छ। केन्द्रीय सभापतिका लागि जसरी दावा बढेका छ त्यसरी नै जिल्लामा पनि सभापतिका दावेदारहरु दौडधुप गरिराखेका छन्।

साउन १२ बाट वडा अधिवेशनको कार्यतालिका सार्वजानिक भएको छ भने १६ गते पालिका २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ।

त्यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्रहरू भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ। त्यसपछि भदौ १६–१९ गते काठमाडौंमा १४ औं महाधिवेशन हुने कांग्रेसको कार्यतालिका छ।

मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक सोही संरचना अनुसार हुन लागेको १४ औँ महाधिवेशन नयाँ संरचना अनुसारको हुने छ।
अधिवेशनको मिति नजिकिएसँगै जिल्लाको भावी नेतृत्वको लागि दौडधुप बढ्न थालेको छ।

को को छन् जिल्ला सभापतिको आकांक्षीहरु?

१२ जिल्ला रहेको बागमती प्रदेशमा कांग्रेसका प्रभावशाली नेताहरु प्रकाशमान सिंह,अर्जुनरसिंह केसी, डा.रामशरण महत, डा.प्रकाश शरण महत, गगन थापा, भीमसेनदास प्रधान लगायतका नेताहरुको प्रदेश हो। नेपालको केन्द्रीय राजधानी काठमाडौं समेत यही प्रदेशमा पर्ने भएकाले यहाँको पार्टी नेतृत्वले केन्द्रीय नेतृत्वमा पनि धेरै प्रभाव पार्ने गरेको छ।

काठमाडौं :  केन्द्रीय राजधानी र सबैभन्दा बढी १० वटा निर्वाचन क्षेत्र भएको काठमाडौं जिल्लामा स्वभाविक रुपमा अन्य महाधिवेशनमा झैं नेतृत्वको आकांक्षी धेरे देखिएका छन्। यो जिल्लामा प्रभावशाली नेता प्रकाशमासिंह, पूर्वमन्त्री भीमसेनदास प्रधानको राम्रो प्रभाव रहेको छ।

अहिले नेतृत्वको लागि वर्तमान सभापति कृष्ण बानियाँ (सबुज) सहित क्षेत्र नं. २ का सभापति उपेन्द्र कार्की, क्षेत्र नं. ४ का सभापति राजु श्रेष्ठ, हरिहर अधिकारी, दामोदर खड्का र गौरी दवाडी सभापतिको दौडमा रहेका छन्।

यसमध्ये सभापति बानियाँ सिंह निकट मानिन्छन्। कार्की, श्रेष्ठ र खड्का तीनैजना केन्द्रीय सभापति शेरबहादुर देउवा निकटका मानिन्छन्। अधिकारी र दवाडी नेता प्रधान निकट हुन्। नेता प्रधान भने कृष्णप्रसाद सिटौला समूहका रुपमा चिनिन्छन्।

ललितपुर :  यो जिल्लामा वर्तमान सभापति मदनकुमार आमत्य पार्टीको विधान अनुसार दुई पटकसम्म लगातार सभापति बनेको र तेस्रो कार्यकालका लागि उमेद्वार बन्न नमिलेपछि क्षेत्रीय सभापति तथा गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, जिल्ला कार्यसमिति मीनकृष्ण महर्जन र नेता प्रकाशनन्दन जोशी देउवा समूहबाट सभापतिको गृहकार्यमा छन्।

देउवाइतर समूहबाट जितेन्द्रकुमार श्रेष्ठ, रामकृष्ण चित्रकार, मथुराप्रसाद घिमिरे र खुमप्रसाद घिमिरे आकांक्षी देखिएका छन्।

भक्तपुर : भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा पुनः नेतृत्वमा आउन चाहेका छन् । पूर्वसभापति गणेश चक्रधरको नामसमेत चर्चामा छ। उनीहरु दुबैजना देउवा समूहका हुन्। देउवाइतर समूहबाट भने, अष्टकुमार कवे, महेश श्रेष्ठ, विनोद कायस्थ र विदुरमानसिंह बस्नेत आकांक्षी छन्।

काभ्रेपलाञ्चोक : यहाँ वर्तमान सभापति मधु आचार्य पुनः नेतृत्वको लागि आकांक्षी छन्। उनीसँगै उपसभापति अच्युतप्रसाद पौडेल, जिल्ला सचिव दिनेश लामा, नेताहरु रमेश हुमागाई, तीर्थ लामा, कुमार लामिछाने, कन्चनचन्द्र बादेसहित सात जना नेताहरु सभापतिको दौडमा देखिएका छन्।

सभापति आचार्य, उपसभापति पौडेल र कन्चनचन्द्र बादे पौडेल समूहका नेताका रुपमा चिनिन्छन्। तीर्थ लामा र कुमार लामिछाने देउवा समूहकारुपमा चिनिन्छन्। सचिव दिनेश लामा रमेश हुमागाई सिटौला समूहका हुन्।

सिन्धुपाल्चोक : यो जिल्लामा पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतको जिल्ला भएकोले उनको प्रभाव पर्ने सम्भावना धेरै छ।

सभापतिको नेतृत्वका लागि पूर्वसभापति भूपेन्द्रबहादुर थापा, वर्तमान जिल्ला उपसभापति शिव सुनार, सचिव बिलबहादुर तामाङ, क्षेत्रीय सभापति आइतमान तामाङ, क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, महासमिति सदस्य कृष्ण न्यौपाने, महाधिवेशन प्रतिनिधि हरिशरण श्रेष्ठ, प्रेमध्वज लामा, टंक कार्की, महाधिवेशन प्रतिनिधि बलदेव तिमल्सिना लगाएतका नेताहरु दौडमा रहेका छन्।

पौडेल समूहबाट पूर्वसभापति थापा, उपसभापति सुनार, बलबहादुर तामाङ, क्षेत्रीय सभापति आइतमान तामाङ रहेका छन्। देउवा समूहबाट क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, महासमिति सदस्य कृष्ण न्यौपाने, महाधिवेशन प्रतिनिधि हरिशरण श्रेष्ठ, प्रेमध्वज लामा र टंक कार्की हुन् र बलदेव तिमल्सिना भने सिटौला समूहका नेताकारुपमा चिनिन्छन्।

सिन्धुली : यहाँ वर्तमान सभापति उज्ज्वलप्रसाद बराल,उपसभापति खड्गबहादुर वाइबा, सचिव दीपक घिमिरे, पूर्वसचिव उपेन्द्र पोखरेल, महाधिवेशन प्रतिनिधि माणिक ढकाल र महासमिति सदस्य प्रेमचन्द्र दाहाल लगायतका नेताहरु सभापतिको आकांक्षी भएका छन्।

धादिङ : यस जिल्लामा वर्तमान सभापति रमेश धमला नै पुनः नेतृत्वमाका आकांक्षी बनेका छन्। उनका साथै नेताहरु भीमप्रसाद ढुङ्गाना र बद्रि अर्यालपनि सभापतिको दौडमा देखिएका छन्। ढुङ्गाना नीलकण्ठ नगरपालिका मेयर समेत हुन्।सभापति धमला र नेता अर्याल पौडेल समूहका नेता मानिन्छन् भने मेयर ढुङ्गाना देउवा समूहका नेता मानिन्छन्।

दोलखा :  वर्तमान सभापति रुद्रबहादुर खड्का पुनःनेतृत्वमा आउने आकांक्षी भएका छन्। त्यस्तै सचिव सन्तोष रिमाल, क्षेत्रीय सभापति छवि लामा, महासमिति सदस्य केशव चौलागाईंल, महाधिवेशन प्रतिनिधि ईश्वरनारायण मानन्धर, बर्मा लामा नेता सन्तोष पाण्डे पनि उम्मेदवारका आकांक्षी छन्।

देउवा समूहबाट छवि लामा र केशव चौलागाईं रहेका छन्। पौडेल समूहबाट भने ईश्वरनारायण मानन्धर, बर्मा लामा र सन्तोष पाण्डे रहेका छन्। सचिव रिमाल भने सिटौला समूहका नेताका रुपमा चिनिन्छन्।

चितवन : यो जिल्ला कांग्रेसका राम्रो वर्चश्व भएको जिल्ला रुपमा चिनिन्छ। चितवनमा सात जना नेताहरु सभापतिको दौडमा रहेका छन्। यो जिल्लामा कोइराला र पौडेल समूहको ठूलो प्रभाव रहेको छ।

वर्तमान जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, राष्ट्रियसभा सदस्य जगन्नाथ पौडेल, नेताहरु डा.सूर्यकान्त घिमिरे, विजय भुसाल, राजेन्द्र बुर्लाकोटी र राजेश्वर खनाल लगायतका नेताहरु सभापतिको दौडमा रहेका छन्।

रामेछाप :  यो जिल्लामा वर्तमान सभापति लवश्री न्यौपाने पुनःनेतृत्वमा दोहोरिने तयारीमा छन्। त्यस्तै सचिव लेखबहादुर कार्की, नेताहरु पूर्णबहादुर तामाङ, अर्जुन केसी, कृष्णबहादुर महतलगायतका नेताहरु सभापतिको आकांक्षी छन्।

जसमध्ये सभापति न्यौपाने, सचिव कार्की र नेता पूर्णबहादुर तामाङ देउवा समूहका हुन् भने पौडेल समूहबाट अर्जुन केसी र कृष्णबहादुर महत रहेका छन्।

नुवाकोट : यस जिल्लामा प्रभावशाली नेताहरु अर्जुननरसिंह केसी, डा.रामशरण महत, प्रकाशशरण महतको गृह जिल्ला भएकाले नेताहरू पनि आफू अनुकूलका सभापति बनाउने दाउमा छन्।

केसी समूहका महासमिति सदस्य डा.केदारनरसिंह केसी, जिल्ला सचिव सुरेन्द्र अधिकारी आकांक्षीका रुपमा देखिएका छन् भने रामशरण महतका भतिज रमेश महत पनि दौडमा छन्।प्रकाशशरण महतनिकट मानिएका सन्तमान तामाङ, चोकराज शाक्यपनि सभापतिको दौडमा रहेका छन्।

रसुवा : यो जिल्लामा वर्तमान सभापति पेम्बाछिरिङ तामाङ, पूर्वसभापति लामाकार्पु तामाङ प्रदेश सांसद प्रभात लामा,उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल सभापतिको आकांक्षीका रुपमा देखिएका छन्।

वर्तमान सभापति तामाङ देउवा समूहको नेताका रुपमा चिनिन्छन् भने पूर्वसभापति लामाकार्पु तामाङ र प्रदेश सांसद प्रभात लामा पौडेल समूहका रुपमा चिनिन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.