प्रधानमन्त्री देउवालाई भोट हाल्ने माधव नेपालसहित २२ जनालाई एमालले सोध्यो २४ घण्टे स्पस्टीकरण
काठमाण्डौं। नेकपा एमालेले पार्टीको निर्देशनविपरीत शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
सोमबार ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय गरेको हो।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफूले १० बुँदे स्वीकार गरेर कार्यन्वयनमा लगे पनि माधव नेपालले नमानेको बताए।
बैठकमा आउन आग्रह गर्न गएका कार्यदलका सदस्यहरुसँग नेपालले आफू अल्पमतमा रहेको बैठकमा नआउने जवाफ दिएर पठाएको ओलीले बताए।
‘हिजो संसदमा कांग्रेस दलका नेता शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाललेका केही सांसदहरुको कदम असाधारण, अस्वभाविक र चरम अनैतिक हो’, उनले भने, ‘यो कुरा हाम्रो पार्टीका लागि शर्मनाक र लज्जास्पद हो।’
ओलीले पार्टीमा आउन चाहने अन्य नेताहरुलाई सदैव स्वागत गर्ने बताए। ‘अन्य साथीहरु पार्टीमा आउनुस् स्वागत छ तर माधव नेपाललाई यस पार्टीमा स्वागत हुने छैन’, उनले भने।भोलि दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटीले यसको बाँकी प्रक्रिया पूरा गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
आजको बैठकले विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावलाई पनि पारित गरेको छ। उपाध्यक्ष भीम रावलले सांसदबाट राजीनामा दिएकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। ‘हतारिएर किन राजीनामा दिएको, सल्लाह गर्नु पर्ने। अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनुपर्छ,’ उनले भने।
यस्तै बैठकले १० बुँदे प्रस्ताव पनि अनुमोदन गरेको छ। अर्को बैठक भोलि मंगलवार दिउँसो ३ बजे बस्नेछ।
यी हुन् देउवालाई विश्वासको मत दिने एमाले सांसद
माधवकुमार नेपाल
भवानी खापुङ
मुकुन्द न्यौपाने
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
पार्वती विशुंखे
हिरा केसी
कृष्णकुमार श्रेष्ठ किसान
गोपाल बम
प्रेमबहादुर आले
लक्ष्मी चौधरी
निरादेवी जैरू
रामकुमारी झाँक्री
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
कलिला खातुन
सविना हुसेन र
कृष्णलाल महर्जन







डिसी नेपाल








Facebook Comment