कांग्रेस मुख्यालय सानेपामा थरी थरी धर्ना
काठमाडौं। क्रियाशील सदस्याता वितरणमा धाँधली भएको भन्दै कांग्रेस पार्टी कार्यलय सानेपामा कार्यकर्ताहरु धर्नासहितको अनशन बसेका छन्। पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित नयाँ क्रियाशील सदस्यता वितरण गरिएको भन्दै बारा, धनुषा, रौतहट र सर्लाहीलगायत जिल्लाका नेता कार्यकर्ताहरु आमरण अनशन सहितको धर्नामा बसेका छन्।
पटक पटक मिति तोक्दै फेरी सर्दै आएको आसन्न १४ महाधिवेशन आउन करिब एक महिना मात्रै बाँकी छ। महाधिवेशनको मुखमै आएर कांग्रेसले महाधिवेशनको मिति संशाेधन गरेको छ।
उक्त संसोधित मिति अनुसार महाधिवेशन आगामी भदौ १६ देखि १९ गते सम्म काठमाडौंमा हुँदैछ। स्थानीय तह स्तरको अधिवेशन आउन अब केही घण्टामात्र बाँकी छ। तर, प्रारम्भिक मतदाताका रुपमा रहेका क्रियाशील सदस्यहरुको विवरण भने अझै टुंगिएको छैन। झन विवाद बढिरहेको छ।
कतै क्रियाशील सदस्यता नपाएको भन्दै पार्टी कार्यालयमा धर्ना भएको छ भने कतै पार्टी कब्जा गर्ने उद्देश्यले क्रियाशील सदस्यता वितरण भएको भन्दै धर्ना र अनशनसम्मका हर्कतमा नेता कार्यकर्ता पुगेका छन। यस्तो अलोकतन्त्रिक संस्कृतिले नेपालको पुरानो पार्टी कांग्रेसको आधारभुत चरित्र उजागर गरेको छ।
महाधिवेशनको मुखमा आएर पार्टीभित्र यसरी विवाद छचल्किनु भनेको हास्यास्पद र लज्जास्पद विषय हो। यसअर्थमा कि लोकतान्त्रिक आन्दोलनको संवाहक दावी गर्ने मुलधारको सबैभन्दा पुरानो पार्टी कांग्रेस महाधिवेशनको मुखमा आएर केन्द्रीय सदस्यता वितरणको विवादमा अल्झिएको छ। सदस्यता वितरणमा छानविन गर्न सकेको छैन।
क्रियाशिल सदस्यता वितरणमा धाँधली भएको भन्दै पार्टीको १३ औं महाधिवेशन पनि विवादका बाबजुद सम्पन्न भएको थियो। पार्टीमा देखिएका यस्ता सामान्य र संवेदनशील समस्या समाधान तिर जानु पर्ने हो तर, त्यस्तो भएको देखिँदैन।

सदावहार आन्तरिक विवाद जस्तो बनिरहेको पार्टीभित्रको अन्त्यहीन गुट उपगुटको शक्तिसंघर्षका कारण पार्टी चरित्र, पार्टी प्रणाली र पार्टीका चुनौतीका बारेमा केही गम्भिर प्रश्न उद्घाटित भएका छन्।
क्रान्ति, आन्दोलन र संघर्षगरी प्राप्त गरेको प्रजातन्त्र र लोकतन्त्र मात्रै होइन २ सय ४० वर्षे पुरानो राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको पार्टी रुपान्तरण र लोकतान्त्रिकरणका दृष्टिले आफै जटिल समस्यामा रहेको प्रष्ट देखिन्छ।
क्रियाशील सदस्यता वितरण छानविन गर्न गठित नेता रमेश लेखक नेतृत्वको ५ सदस्सीय कार्यदलले काम गर्न सकेको छैन। भने विरोधका स्वरहरु चर्को बन्दै गएका छन्। केही जिल्लाहरुमा त विवादसमाधान तिर होइन अझै झागिँदै गएको छ।
पार्टी मुख्यालय सानेपामा अहिले विभिन्न माग सहितका नेताकार्यकर्ता थरी थरीका धर्नामा छन्। सोही धर्नामा आमरण अनसन बसेका छन् नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवका छोरा समेत रहेका धनुषा कांग्रेसका नेता तथा पूर्वसांसद डा. चन्द्रमोहन यादव लगाएतका नेता कार्यकर्ता। उनीहरु धर्नापछिको आमरण अनशन बसेको नै छैटौँ दिन बितिसकेको छ।
उनले पार्टीको विधान विपरित क्रियाशील सदस्यता पाएकाहरुको सदसयता बदर गर्नुपर्ने, विधिअनुसार सदस्यता पाउनुपर्नेलाई दिनुपर्ने लगायतका माग राखेका छन्। उनी अनशन बसेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, सभापतिका आकांक्षी शेखर कोइरालालगायत नेताहरुले अनशनप्रति ऐक्यवद्धता जनाएका छन्।
तर, उनका माग पूरा गर्नेतर्फ कुनै छलफल भएको छैन। बरु पार्टी कार्यालयमा धर्ना भएको भन्दै सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी कार्यालय जानै छाडेका छन्।
डाक्टर चन्द्रमोहन यादव पछिल्लो महाधिवेशनमा पनि क्रियाशील सदस्याताको विवाद रहँदा रहँदै महाधिवेशन सम्पन्न भएकोले अहिलेको महाधिवेशनबाट यी समस्या हल गरेर अघि बढ्नु पर्ने भन्दै आमरण अनसनमा बसेको बताउँछन्।

धनुषा जिल्लाको क्षेत्र नम्बर १ र ४ को क्रियाशील सदस्यता वितरणमा धाँदली भएको उनीहरुको दाबी छ। यसबारे जिल्ला छानविन समितिले सर्वसम्मत रुपमा बनाएको प्रतिवेदन लागू हुनुपर्ने उनको भनाइ छ।
उनले भने, ‘धनुषा जिल्ला १ नम्बर ४ नम्बर क्षेत्रमा विल्कुल एक पक्षीय, मनोमानी, अलोकतान्त्रिक, अवैधानिक तरिकाले क्रियाशील सदस्यता वितरण भएको छ। दुवै क्षेत्रको केही हदसम्म प्रकृति फरक होला तर, मोटामोटी समस्या एउटै हो। यस्तै प्रकृतिको समस्या १३ औं महाधिवेशनमा पनि यो पटक पनि त्यस्तै किसीमले एक पक्षीय क्रियाशील सदस्यता वितरण भएको छ। यसको निष्पक्ष छानबीन होस।’
पार्टीभित्र आन्तरिक लोकतन्त्र क्षिण हुँदै गइरहेको भन्दै उनले भने ’नेपाली कांग्रेस भनेको यो देशमा लोकतान्त्रिक व्यवस्थालाई परिभाषित गर्ने पार्टी हो। तर, दुखका साथ भन्नु पर्छ अहिले पनि पार्टीभित्र लोकतान्त्रिक परिपाटी मजबुत रुपमा बसीसकेको छैन्। पार्टीभित्रको आन्तरिक लोकतन्त्र जति हुनुपर्ने हो, त्यो छैन। यसको ठूलो उदाहरण यही हो।’
उनले अगाडि भने, ‘नेपाली काँग्रेसको मेरुदण्डका रुपमा रहेको क्रियाशील सदस्यता वितरण महाधिवेशनको मुखमा आएर यसरी विवादित बनेको छ। पार्टीको जगका रुपमा रहेको सदस्यता वितरण विलकुल विवादरहित हुनुपर्ने हो। यति संवेदनशील विषयमा पहुँचको आधारमा सदस्यता वितरण गरिनु भनेको पार्टीको भविष्यका लागि पनि ठूलो समस्या र चुनौती हो। यसलाई सहजरुपमा समाधान गर्न सकिन्छ। मलाई लाग्छ, कँही न कँही केन्द्रीय नेतृत्वमा ‘पोलिटिकल विल पावरको कमी छ।’
आफ्नो स्वास्थ्य भन्दा पनि महत्वपूर्ण कुरा पार्टीको विधि पद्दति रहेको बताउँदै नेता यादबले आफ्ना मागहरु सम्बोधन नभएसम्म अनशन बसी रहने बताए।

आइतबारदेखि आमरण अनशन थालेका उनीहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको उपचारमा संलग्न डाक्टरले बताएका छन।
ढोकाको अर्को छेउमा धर्नामा बसेका छन् धनुषा क्षेत्र नम्बर १ का निर्वतमान सांसद प्रेम किशोर शाह। क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै उनी विगत ६ दिनदेखि धर्नामा छन।
‘हाम्रो धनुषा जिल्ला क्षेत्र नम्बर एक र चारमा क्रियाशील सदस्यता वितरणमा धाँधली होइन ब्यापक धाँधली भएको छ। धाँधली गर्नुको उद्देश्य भनेको पार्टी पुरै आफ्नो क्याप्चरमा राख्नु हो। प्रक्रिया नै नपुगाएर नियमको विपरित आफ्ना नजिकका मान्छेहरुलाई जथाभावी क्रियाशील सदस्यता थपिएको छ।’
उनले अगाडि भने, ‘त्यसपछि हामीले जिल्ला जाँच बुझ समितिमा उजुरी गरायौँ। त्यो सुनुवाई नै भएन। हामी ६ दिनदेखि धर्नामा छौँ। त्यहि पनि हाम्रो कुरा सुनुवाई भएको छैन। हाम्रो एउटै माग हो त्यो भनेको जिल्लाको छानबिन समिति जसले स्थलगत निरिक्षण गरेर जुन सूचि केन्द्रमा पठाएको छ। कुनै केन्द्रीय नेताहरुको भनसुनको आधारमा होइन कि सोही वास्तविकताको आधारमा सदस्यता वितरण गरिनु पर्छ।’
क्रियाशील सदस्यता विवादकै कारण अहिले बाराका संस्थापन र इतर दुवै पक्ष अहिले धर्नामा छन्। बारा क्षेत्र नम्बर २ का नेता तथा कार्यकर्ताहरू धर्ना बसेको २ साता बितेको छ। तर, उनीहरुको समस्या समाधान भएको छैन। उल्टै आफ्नो आवाज दबाउनको लागि अन्याय गर्ने पक्ष पनि धर्नामा उतारिएको उनीहरुको बुझाइ छ।

आफूहरुमाथि अन्याय भएकोले न्यायको लागि धर्नामा बसेको धर्नामा रहेका नेता रामानन्द प्रसाद यादबले बताए। उनले भने ‘बारा जिल्लाको क्षेत्र नम्बर १ र ४ मा वडा सभापतिहरुलाई क्रियाशील नै नदिकन क्षेत्रीय सभापति ज्यूहरु सिधै प्रवेश गरेको कारण। हामी धर्ना बस्न बाध्य भएका छौँ। यो पार्टीमा निरन्तर योगदान गर्ने गाउँका सर्वसाधरण कार्यकर्ताहरु, यो पार्टीमा निरन्तर योगदान गर्ने साथीहरु सदस्यता लिन बञ्चित भएका छन। उनीहरुलाई क्रियाशील सदस्यता नदिएर अन्याय गरिएको छ। सोही कारण हामी १४ दिन देखि धर्नामा छौँ।’
‘म तपाईको मिडियाबाट पार्टी सभापति ज्यूको ध्यानार्कषण गराउन चाहान्छु। हाम्रो आवाज सुन्न नदिन अन्याय गर्नेहरु नै केही दिनदेखि धर्नामा बस्नु भएको छ। उहाँहरु अन्याय पनि गर्ने र प्रतिशोध साध्नको लागि उल्टै धर्नामा बस्ने यो कहाँको न्याय हो।’
क्रियाशील सदस्यता छानबिन सदस्यता छानबिन समितिले त्यसको वास्तविक छानबिन गरेर न्याय नदिएसम्म धर्ना जारी राख्ने उनले बताए।
यस्तै बाक्लो संख्यामा उपस्थित भएका बाराका संस्थापक पक्षका नेता कार्यकर्ताहरु तलको चउरमा धर्ना बसेका छन। उनीहरु ३ दिनदेखि जिल्ला सभापति जयचन्द चौरासियाको नेतृत्वमा धर्नामा बसेको छन्।

धर्नामा रहेका बारा क्षेत्र नम्बर ४ का सभापति सुधिर कुमार गुप्ताले भने ‘प्रक्रियासम्मत क्रियाशील सदस्यता भरेर पठाएकोले त्यसको कार्यन्वयनमा शंका देखेपछि धर्ना दिन बसेका हौँ। धर्ना बस्नुको कारण भनेको पार्टीले बनाएको जुन अवधारणा थियो। विधान, विधि, नियम, नीति र र क्रियाशील छानबीन समितिको परिपत्रअनुसार क्रियाशील सदस्यता भरेर हामीले केन्द्रमा पठायौँ। तर, त्यो फाइल नै खोलिएन। यदि नाम काटे पनि सोही फाइलअनुसार काट्नु पर्छ त्यसमा हामी सहमत छौँ।’
उनले फाइलको आधिकारीकता र वास्तविकतालाई नसुनिकन त्यसलाई साइड लगाउन केही तत्व सक्रिय भएको बताए। बारा जिल्लालाई यो अधिवेशनबाट बञ्चित गर्ने षड्यन्त्र भइरहेको उनको आरोप छ।
















Facebook Comment