फुट्न लागेको जसपा विवादको रिट नेकपा फुटाइदिने न्यायाधीशको इजलासमा
काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगको आदेशविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको छ । न्यायाधीश रेमीको इजलासको लागि आज तोकिएका रिटहरुमध्ये अठौं नम्बरमा ठाकुरको रिट परेको छ ।
जनता समाजवादी पार्टीभित्र विवाद भएपछि सो विवाद समाधानका लागि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरुको सनाखत गराउन आदेश दिएको थियो । सोही आदेश बदर गराउन माग गर्दै ठाकुर सर्वोच्च अदालत पुगेका हुन् । जनता समाजवादी पार्टीभित्र अहिले ठाकुर समूह र उपेन्द्र बाबुराम समूह गरी दुई ध्रुवमा नेताहरु विभाजित छन् ।
वैचारिक रुपमा विभाजित भएको र औपचारिक रुपमा मात्र विभाजन हुन बाँकी रहेको ठानिएको जनता समाजवादी पार्टीको विवादको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा पर्दा यसले राजनीतिक वृत्तमा चर्चा पाएको छ । किनकि न्यायाधीश रेग्मी उनै हुन् जसले अर्का न्यायाधीश बमकुमार श्रेष्ठसँगको संयुक्त इजलासमा नेकपा विभाजन भएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अस्तित्व कायम रहने फैसला गरेका थिए ।
नेकपाको नामको विषयमा ऋषि कट्टेलले दायर गरेको मुद्दामा रिट निवेदकले माग नै नगरेको विषयमा प्रवेश गर्दै क्षेत्राधिकारभन्दा अगाडि बढेर फैसला गरेको भन्दै यो फैसलाको अहिलेसम्म आलोचना हुने गरेको छ । अहिले उस्तै प्रकृतिको अर्को रिट पनि उनै रेग्मीको इजलासमा तोकिएपछि यसले चर्चा पाएको हो ।







डिसी नेपाल








Facebook Comment