जसपा ठाकुर समूहको मधेस दौडाहा : नयाँ दल दर्ता कि उपेन्द्र यादवकाे भण्डाफाेर ?

सम्भव सिंह ठकुरी
२८ साउन २०७८ ६:५८

काठमाडौं। साउन ११ गते जनता समाजवादी पार्टी (जसपा) को आधिकारीकता उपेन्द्र यादव समूहले पाएसँगै महन्थ ठाकुर पक्षको आगामी राजनीति यात्रा र रणनीतिको सवाल कस्तो हुन्छ भन्ने विषय पेचिलो बनेको छ।

आयोगले यादव पक्षलाई पार्टीको आधिकारीकता दिएको छ,भने ठाकुर पक्षलाई नयाँ दल खोल्ने सुविधापनि दिएको छ। तर नयाँ दल खोल्दा उक्त समूहका स्थानीय तहका जनप्रतिनिधि, प्रदेश र संघीय जनप्रपतिनिधिको पद संकटमा पर्ने संम्भावना छ।

यसरी राजनीतिक रुपमा सकसमा परेका ठाकुर पक्षका नेताहरु तराई, मधेशको दौडाहामा निस्केका छन्। नेताहरुले तराईका विभिन्न जिल्लाहरुमा आफू निकट नेता,कार्यकर्ताको भेलामा आफूहरु नै मधेसको मुद्दामा गम्भिर भएको र पार्टी फुटाउन आफ्नो समूह भन्दापनि उपेन्द्र यादव समूह लागिपरेको भन्दै यादव समूहको तीब्र आलोचना गरिरहेका छन्।

यसरी ठाकुर पक्षको मधेस दौडाहा हुनु नयाँ दलको अभ्यास र उपेन्द्र यादव समूहको भण्डाफोर भनेरपनि चर्चा हुन थालेको छ। यद्यपि ठोसरुपमा नयाँ दल गठनबारे कुनैपनि नेताको भनाइ सार्वजानिक भएको छैन।

ठाकुर पक्षका नेता शरतसिंह भण्डारीका अनुसार मधेस यात्राको एकमात्र उद्देश्य आफ्नो समूहमाथि लागेको गतल आरोपहरु जनतामाझ गएर खण्डन गर्नुमात्र हो।

‘पार्टी ठूलो दुर्घटनामा गएपछि विशेषगरी मधेसको माग, मुद्दाहरुमा विभिन्न भ्रम छर्ने काम भएको हुनाले जनतालाई यर्थात कुरा भन्न अएका हौँ,’ भण्डारीेले डिसी नेपालसँग भने, ‘अर्को कुरा मधेसका मुद्दा कमजोर पार्न विभिन्न षड्यन्त्र पनि भएका छन्। त्यसकारण आफ्नो माग,मुद्दाप्रति सबैलाई सचेत गराउन हामी एउटा अभियान लिएर आएका हौँ।’

नयाँ दलको अभ्यास र अहिले नयाँ दल खोल्ने उद्देश्य नरहेकोपनि भण्डारीले प्रष्ट पारे। उनले अगाडि भने, ‘जसपा दल कसैको पनि व्यक्तिगत पार्टी हैन, हजारौँ मधेसी,दलित, मुस्लिम, आदिबासी, जनजातिको संघर्ष र बलिदानले बनेको पार्टी हो। अहिले विभिन्न षड्यन्त्र गरेर हामीलाई अल्पमतमा पारेपनि यो खाले अभ्यास क्षणिक हुन्छ। र अन्तिममा जित सत्य कै हुन्छ।’

तराई, मधेसमा जनताहरु ठाकुर पक्षसँग एकदमै खुसी र कृतज्ञ भएकोेपनि उनले दावी गरे। यो अभियानको क्रमका केपी ओली सरकारमा सहभागी हुनुको कारण र सहभागि भएपछि मधेसको मुद्दामा भएको उपलब्धी अनि शेरबहादुर देउवालाई संसदमा दिएको विश्वासको मतबारे जनतालाई जानकारी दिने उद्देश्य मात्र रहेको भण्डारीले बताए।

तराईको २२ जिल्लामध्ये १३/१४ ओटा जिल्लाको अभियान सकिएको र चाँडै प्रदेशस्तर अभियानमा लाग्नेपनि उनले जानकारी दिए। ‘अहिले विभिन्न जालझेल गरेर हामीलाई राजनीतिकरुपमा कमजोर पार्ने प्रयासहरु पनि भएका छन्,तर हामीले केही मधेसका मुद्दाहरु समाधानपनि गरेका छौँ,त्यसकारण जनताहरु हामीप्रति निकै उत्साहित छन्,’ भण्डारीले भने।

मधेस मामिलाका जानकारक तथा राजनीतिक विश्लेषक डा.विजयकान्त कर्ण भने ठाकुर समूह पार्टीको वैधानिकता गुमेपछि अब नयाँ दल दर्ताबारे कार्यकर्ता र जनताको मनोविज्ञान बुझ्ने उद्देश्य रहेको दावी गर्छन्। तर जनतामा यसरी अभियान लिएर जानु राम्रो काम भएको पनि बताउँछन्।

‘लोकतान्त्रिक व्यवस्थामा जनताभन्दा ठूलो शक्ति केही हुँदैन,जसपाको विवादबारे आयोगले फैसला दिएपछि,उहाँहरु मधेसका विभिन्न जिल्लाहरुमा अन्र्तरक्रियात्मक कार्यक्रम गरिरहनु भएको छ। यसको प्रमुख उद्देश्य भनेको नयाँ दल दर्ताको अभ्यास नै हो,’ कर्णले भने।

उनले अगाडि भने, ‘जसपा कानूनी रुपमा एकदल भएपनि एकताको दिनदेखि नेतृत्व र व्यवहारशैली त्यो दिनबाट नै एक हुन सकेको थिएन। यो सबै हुनुमा उपेन्द्रजी, बावुरामजी,अशोकजीहरु कम्युनिष्ट पृष्ठभूमिका थिए भने,महन्थजी,शरतजी कांग्रेस पृष्ठभूमि, राजेन्द्रजी,अनिलजीहरु सद्भावनाको पृष्ठभूमिका नेताहरु हुन्। त्यसकारण पार्टीभित्र सुरुवाती दिनहरुबाट नै सिद्धान्त र नेतृत्वको विवाद चल्दै आयो र पछिल्लोरुपमा विकशीत राजनीतिक घटनाक्रम त्यसैको परिणाम हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *