लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी पक्का
काठमाडौं। लुम्बिनी प्रदेशमा बिपक्षी गठबनधनबाट ४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि कुलप्रसाद केसीको दावी भएसँगै लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री निश्चित भएको छ।
माओवादी केन्द्रबाट मुख्यमन्त्रीका रुपमा प्रस्ताव भएका केसीको कार्यकाल ८ महिनाको हुने बताइएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारी भएकाले १६ महिना कार्यकाल बाँकी रहेको प्रदेससभामा अर्को ८ महिना कांग्रेसको तर्फबाट वीरेन्द्रप्रसाद केनडिया मुख्यमन्त्री हुने मौखिक सहमति भएको माओवादी सांसद सुदर्शन बरालले जानकारी दिए।
आजै मुख्यमन्त्री भएपछि केसीले सानो आकारको मन्त्रिपरिषद् बिस्तार गर्ने जनाइएको छ। कांग्रेस,माओवादी,जसपाको तर्फबाट एक–एक जनाको प्रतिनिधित्व हुने गरी सानो आकारको मन्त्रिपरिषद् बिस्तार हुने कांग्रेस प्रमुख सचेतक फखरुदिन खानले बताए।
प्रदेशसभामा हाल ८० सदस्य रहेकामा बहुमतका लागि ४१ सदस्य आवश्यक हुन्छ। कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ जनाले सरकारका लागि दाबी पेश गरेका छन्।
मुख्यमन्त्रीले विश्वासको मत लिएपछिमात्र मन्त्रिपरिषदलाई पूर्णता दिने गठबन्धनको रणनीति रहेको छ। सबै दलबाट एक जनामात्र मन्त्री बन्ने भएपनि को बन्ने भन्ने कुरा निश्चित भएको छैन।
स्रोतका अनुसार कांग्रेसबाट वीरबहादुर राना र डिल्ली चौधरीको चर्चा छ। माओवादीबाट इन्द्रजित चौधरी र दामा शर्माको चर्चा छ भने जसपाबाट सहसराम यादव, सुमन शर्माको चर्चा छ।







डिसी नेपाल








Facebook Comment