एमालेलाई एकपछि अर्को धक्का, बागमती र एक नम्बर प्रदेश सरकार पनि संकटमा!
काठमाडौं। गत संसदीय निर्वाचनमा झण्डै दुई तिहाइ बहुमतका साथ सत्तारोहण गरेको तत्कालीन नेकपा विभाजित बनेपछि सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले आन्तरिक किचलोका कारण एकपछि अर्को क्षति व्यहोरिरहेको छ।
माधव नेपाल समूहको विद्रोहका कारण नेपालले केन्द्र सरकारबाट एमाले बाहिरिनु परेको छ भने दुई वटा प्रदेश सरकारबाटसमेत एमाले बाहिरिएको छ।
चारवटा प्रदेश सरकारको नेतृत्व गरेको एमालेले गण्डकी र लुम्बिनी प्रदेश सरकार गुमाएको छ। गत चुनावमा केन्द्र र प्रदेशमा सरकारविहीन भएको नेपाली कांग्रेसले केन्द्र सरकारको नेतृत्व गरिरहेको छ भने गण्डकीमा समेत कांग्रेस नेतृत्वमा गठबन्धन सरकार छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको टकरावका कारण संघीय सरकार र गण्डकी र लुम्बिनी प्रदेश सरकारबाटसमेत एमाले बाहिरिएको छ।
पार्टीभित्रको आन्तरिक किचलोका कारण नै एकल बहुमतबाट सरकार बनाउन सक्ने अवस्था रहेको सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको सरकार छ भने आफ्नो नेतृत्वका सरकार बनाउन सक्ने कर्णालीमा पनि माओवादीकै सरकार छ। लुम्बिनीमा माओवादी केन्द्रले सरकार बनाएसँगै तीन वटा प्रदेश सरकार माओवादी केन्द्रको पोल्टामा पुगेको छ।
अहिले संघमा एमाले अध्यक्ष ओली ४१ महिनापछि सरकारबाट बहिर्गमन भएर प्रमुख प्रतिपक्षीमा पुगेका छन्। गण्डकीमा ओली सरकार कायमै रहेका बेला मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबनले सरकार गठन गरेको थियो।
लुम्बिनीमा पनि विश्वासको मत गुमाएपछि शंकर पोखरेललाई विस्थापन गर्दै गठबन्धनले आफ्नो सरकार बनाएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नसक्दा एमालेलाई एकपछि अर्को धक्का लाग्दै गएको छ।
दुईवटा प्रदेश सरकार गुमाएको एमालेले अब बाँकी दुई वटा प्रदेश सरकार पनि गुमाउने चिन्ता बढेको छ। माधव नेपाल समूहले पार्टी विभाजन गर्यो वा अन्य दलले समर्थन गरेको अवस्थमा बागमती र एक नम्बर प्रदेशबाट पनि एमाले बाहिरिन सक्छ।
विवाद बढ्दै गएपछि पार्टी विभाजनको रेखानजिक पुगेको छ। यसअघि तत्कालीन नेकपाभित्र विवाद बढ्दै जाँदा नेपाल पक्ष र प्रचण्ड पक्ष (अहिले माओवादी केन्द्र) का सांसदहरूले दुवै प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए। तर सर्वोच्च अदालतले नेकपाको एकता बदर गरेपछि ओलीलाई केही राहत पुगेको थियो भने, यी दुवै प्रदेशमा सरकार जोगिएका थिए।
अन्य संघदेखि प्रदेशहरूसम्म सरकार परिवर्तन भइरहँदा बागमतीमा डोरमणि पौडेल र प्रदेश–१ मा शेरधन राई नेतृत्वको सरकार पनि संकटमा देखिएको छ। सरकार परिवर्तनका लागि औपचारिक रूपमा पहल सुरु नभए पनि एमाले विभाजनको तहमा पुगेसँगै संकट थप गहिरिएको छ। अहिले एमाले वरिष्ठ नेता नेपाल सम्मिलित गठबन्धन बलियो भएका कारण नेपाल समूहले चाहेको खण्डमा यी दुवै प्रदेशमा सरकार परिवर्तन हुनसक्छ।
यसअघि गण्डकी र लुम्बिनीमा सरकारबाट एमाले बहिर्गमनमा पर्नु तथा सुदूरपश्चिम र कर्णालीमा सरकार बनाउने अवसर गुम्नुमा नेपाल पक्ष निर्णायक देखिएको छ। एमाले नेतृत्व तहमा कुरा नमिले बागमती र प्रदेश(१ ले पनि छिट्टै नयाँ सरकार पाउने र अहिलेको सत्तारुढ दल नेकपा एमाले प्रतिपक्षी भएर बस्ने निश्चित प्रायः देखिन्छ।







डिसी नेपाल








Facebook Comment