माधव नेपाल र महन्थ ठाकुरका पार्टीको सनाखत भदौ ९ गते
काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई सनाखतका लागि भदौ ९ गते बोलाएको छ ।
दुवै पार्टीलाई भदौ ९ गते बिहान ११ः ३० देखि २ बजेभित्र सनाखतका लागि आयोगमा बोलाइएको आयोगका सूचना अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।
शुक्रबार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी र ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका थिए। उक्त निवेदनपछि आयोगले भदौ ९ गते नेकपा एमाले र जनता समाजवादी पार्टीका २० प्रतिशत केन्द्रीय सदस्य र सांसदहरू नयाँ पार्टीमा रहे\नरहेको सनाखत गर्न लागेको हो।
उक्त दिन जो-जो मानिसहरू निर्वाचन आयोगमा सनाखत गर्न जान्छन् उनीहरू नै नयाँ पार्टीका केन्द्रीय सदस्य र सांसद हुन्छन्। सनाखतमा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद पुगे भने यी नयाँ दल दर्ता हुनेछन्।
नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी खोलेका माधव कुमार नेपाल समूहका एक सय १५ जना केन्द्रीय सदस्यसहितको हस्ताक्षर लिएर निर्वाचन आयोग पुगेका बेदुराम भुसाल र राजेन्द्र पाण्डेले पार्टीको नाम नेकपा एकीकृत (समाजवादी) लागि निवेदन दिएका थिए।
सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमाले वरिष्ठ नेता माधव नेपाल र जसपाका नेता महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।
माधव नेपालले पार्टीको नाम नेकपा एमाले (समाजवादी) र ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम राख्न निवेदन दिएपछि निर्वाचन आयोगले अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै नाम परिवर्तन गर्न भनेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment