एमाले विवाद : ‘मंगलबारसम्मको ‘अल्टिमेटम’ दिएको गलत प्रचार गरियो’
काठमाडौ। लामो समयसम्म माधव नेपाललाई साथ दिएका तर नेता नेपालले पार्टी विजभान गरेपछि साथ छोडेका नेताहरुले मंगलबारसम्म दश बुँदे सहमति कार्यान्वयनको लागि अल्टिमेटन दिएको भन्ने समाचारमा सत्यता नभएको दाबी गरेका छन्।
नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेताहरुले गत शुक्रबार अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कार्यदलले बुझाएको दश बुँदे सहमति कार्यान्वयनका लागि मंगलबारसम्मको समयसीमा दिएका थिए।
तर आफूहरुले कुनै पनि समयसीमा नदिएको नेता सुरेन्द्र पाण्डेले बताएका छन्। उनले मंगलबारसम्मको समयसीमा दिएर गलत प्रचार गरेको भन्दै आपत्ति जनाए। अहिले आफूहरु पार्टी एकताको पक्षमा निरन्तर लागि परेको तर प्रतिक्रिया दिनेगरी कुनै प्रगति नभएको उनको भनाइ छ।
‘हामीले मंगलबारसम्मको समयसीमा दिएको भन्ने गलत हो,’ पाण्डेले डिसी नेपालसँग भने, ‘बाहिर गलत प्रचार गरियो। अहिले पनि हामी पार्टी एकताको पक्षमा लागिरहेका छौं। तर प्रतिक्रिया दिने गरी केही पनि भएको छैन।’
उनले मंगलबारपछि पनि एकताकै पक्षमा लाग्ने संकेत गरेका छन्।
उता संस्थापन पक्षले भने कार्यदलले बुझाएको दश बुँदे प्रतिवेदनलाई पार्टीले ग्रहण गर्दै त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरिसकेको भन्दै शंका नगर्न आग्रह गरेको छ। ‘कार्यदलले बुझाएको प्रतिवेदनलाई पार्टीले ग्रहण गरेर कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको अवस्थामा फेरि शंका किन गर्नुपर्यो,’ अध्यक्ष ओली निकट एक नेताले डिसी नेपालसँग भने।
एमालेभित्रको विवाद चर्किँदै जाँदा वरिष्ठ नेता माधव नेपालले पार्टी विभाजन गरेर नयाँ दल दर्ता गरिसकेका छन्। निर्वाचन आयोगले ९ गते सनाखतका लागि बोलाएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य वा सांसदमध्ये २० प्रतिशत संख्या आफ्नो पक्षमा पार्न सके उहाँले नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्व गर्नेछन्।
नेता नेपालले पार्टी विभाजन गरेपछि उनको साथ छोडेका तर एमालेभित्रै पनि अन्तरसंघर्ष गरिरहेका नेताहरु भने अध्यक्ष ओलीले आफूहरुका कुरा नसुन्ने र नेता नेपालले नेता नेपालले दल विभाजन गरी नयाँ दर्ता गरेपछि कसरी अगाडि बढ्ने भन्ने छलफलमा जुटेका छन्।
उनीहरु एमालेभित्रै रहेर संघर्ष गर्ने वा नयाँ विकल्प खोज्ने भन्ने विषयमा छलफलमा रहेका छन्। उनीहरुले आफूलाई तेस्रो धारको रुपमा स्थापित गराउन खोजेका छन्।
तेस्रो धारमा अहिले तीन उपाध्यक्ष, एक उपमहासचिव र तीनजना सचिवसहित स्थायी कमिटीका नौ सदस्य सहभागी छन्। उनीहरूको समूहमा सहभागी रहेका केन्द्रीय सदस्य र सांसदहरूको संख्या यकिन छैन। तेस्रो धारका नेताहरूले विकल्प खोज्ने बताए पनि केही नेताहरू भने नेपाल समूहसँग फर्किने र अवसर पाएको अवस्थामा ओलीलाई नै समर्थन गर्ने सम्भावना पनि देखिन्छ।







डिसी नेपाल








Facebook Comment