केपी ओलीलाई प्रदेश प्रदेशमा पछारियोः प्रचण्ड

डिसी नेपाल
१४ भदौ २०७८ २३:४१
2.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई प्रदेश प्रदेशमा पछारेको बताएका छन् । उनले मधेश माओवादीको कब्जामा रहने र एक नं प्रदेशको सरकार पनि ढल्ने बताएका छन् ।

सर्लाही जिल्लाबाट विभिन्न पार्टी परिल्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई राजधानीको जोरपाटीमा स्वागत गर्दै दाहालले सो कुरा बताएका हुन् । उनले भने, ‘अव मधेशमा अरु पार्टीले होइन माओवादीले कब्जा जनाउने छ । माओवादी एक नम्बर पार्टी नभएसम्म यो देशमा राजनीतिक स्थीरता र विकास सम्भव छैन ।’

कार्यक्रममा नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले आगोसँग खेल्ने प्रयास गरेको र त्यसको परिणाम सत्ताच्युत भएर अहिले बस्नुपरेको पनि उनले बताएका थिए । उनले आफूलाई आगोसँग तुलना गरेका थिए । “मैले संसदको रोष्टमबाट केपीलाई भनेको थिएँ तिमी आगोसँग खेल्दै छौ, सावधान होऊ, अहिले देखे नि केपीले । खालि संघमा मात्र पछारिएको छैन प्रदेश प्रदेशमा पछारिएको छ । अव केही दिनपछि हेर्नुहोला प्रदेश एक र यो बागमती प्रदेशमा पनि ढल्दैछ उनको सत्ता ।”

‘जवसम्म माओवादी केन्द्रले प्रदेश नं २ का सबै जिल्ला र पूरै प्रदेशमा बहुमत ल्याउँदैन तवसम्म मधेशी जनताको मुक्ति सम्भव छैन । मधेश पूरै माओवादीमय हुनुपर्छ’, उनले भने । पार्टी प्रवेश गर्नेहरुलाई प्रचण्डले सही समयमा सही निर्णय लिएको भनेका थिए, ‘यही उचित समय हो ।’

“माओवादीवाहेक अरुको नेतृत्वमा सरकार बन्दा र माओवादीवाहेक अरुलाई मत दिँदा परिणाम के हुँदो रहेछ भन्ने कुरा हामीले भोग्यौँ, पार्टी एकत गर्यौं, केपी ओलीलाई प्रधानमन्त्री बनायौँ तर परिणाम के भयो ? झण्डै झण्डै संघीयता खारेज हुने चरणमा गयो, गणतन्त्र विघटन हुने खतरा पैदा भयो, सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धी जोखिममा जाने परिस्थिति बन्यो”, उनले ओलीप्रति आक्रोश पोख्दै भने ।

“आफ्नो संघर्षबाट मधेशमा जागरण र चेतना अगाडि आयो । तर काम गर्ने कालु बसी खाने भालु भयो अहिले नेपालमा”, प्रचण्डले भने, “रगत बगाउनेहरु एकतिर परे, पहिचानविरोधीहरु सत्तामा पुगेर मधेशी जनताको पहिचानलाई कुल्चने दुस्साहस गरे ।” उनले यी सबै कुराको प्रतिरोध आफ्नो नेतृत्वमा गरेको पनि बताए ।

उनले चक्रघट्टा गाउँलाई स्मार्ट भिलेज बनाउने प्रतिबद्धता पनि जनाए । सर्लाहीका सांसद एवं पूर्वमन्त्री रामेश्वर राय यादव र चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम राय यादवको सक्रियतामा आयोजित सो पार्टी प्रवेश कार्यक्रममा मनोज जैसवाललगायत करिव चारसय व्यक्तिहरु नेकपा एमाले र समाजवादी पार्टी छाडेर नेकपा माओवादी केन्द्र प्रवेश गरेको जानकारी दिइएको थियो ।

 

कार्यक्रममा पूर्वमन्त्री एवं सर्लाहीका माओवादी सांसद रामेश्वर राय यादवले नव प्रवेशीहरुलाई स्वागत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.