कांग्रेस महाधिवेशन : कर्णाली प्रदेशमा को-को छन् जिल्ला सभापतिको आकांक्षी?

सम्भव सिंह ठकुरी
१५ भदौ २०७८ १३:१४
80
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै वडा तहदेखि केन्द्रसम्म सरगर्मी बढ्न थालेको छ। केन्द्रका नेताहरु आफू अनुकूलका नेतालाई जिल्ला सभापति बनाउने कसरतमा लागेका छन्।

यसका लागि नेता कार्यकर्ता केन्द्रीय नेता भेट्न काठमाडौं आउने जाने क्रम निकै बाक्लिन थालेको छ। केन्द्रीय सभापतिका लागि जसरी दाबी बढेका छ, त्यसरी नै जिल्लामा पनि सभापतिका दावेदारहरु दौडधुप गरिराखेका छन्।

वडा अधिवेशन भदौ १८ र गाउँ नगरपालिको अधिवेशन भदौ २७ गतेका लागि तय भएको छ। त्यसैगरी प्रदेशको क र ख क्षेत्रको अधिवेशन असोज १ गते हुनेछ भने संघीय क्षेत्रको अधिवेशन असोज ५ गतेका लागि तय गरिएको छ। जिल्लाको अधिवेशनको असोज १० गते हुनेछ भने प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म हुनेछ। केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुनेछ।

मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक सोही संरचना अनुसार हुन लागेको १४ औँ महाधिवेशन नयाँ संरचना अनुसारको हुने छ।
अधिवेशनको मिति नजिकिएसँगै जिल्लाको भावी नेतृत्वको लागि दौडधुप बढ्न थालेको छ।

को को छन् जिल्ला सभापतिको आकांक्षी

१० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा कांग्रेसका प्रभावशाली नेताहरु पूर्णबहादुर खड्का, जीवन बहादुर शाही लगाएतका नेताहरुको प्रदेश हो।

सल्यान :  यहाँ जिल्ला समन्वय समिति प्रमुख केशबहादुर विष्ट, छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी र सावित्रा राई देउवा समूहबाट उम्मेदवार बन्ने दौडमा छन्। पौडेल समूहबाट पूर्वजिविस सभापति ध्रुवराज पुरी, त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगी र जिल्ला सचिव एकराज डाँगी पनि कसरत गरिरहेका छन्।

दैलेख  :  यहाँ देउवा समूहका धेरै नेता आकांक्षी देखिएका छन्। वर्तमान सभापति कृष्णकुमार बिसी, सचिव भूपेन्द्र शाही, पूर्वसभापति खेमराज केसी, जिल्ला सदस्य पूर्ण चालिसे, क्षेत्रीय सभापति घनश्याम भण्डारी र गणेश उपाध्याय उम्मेदवारको दौडमा छन्। पौडेलबाट भने,महासमिति सदस्य मणिराम रेग्मी पनि आकांक्षी देखिएको छ।

सुर्खेत  :  महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला भएकाले यहाँ उनको राम्रो प्रभाव रहेको छ। उक्त समूहबाट सभापतिका पूर्वउम्मेदवार यज्ञ बिसी, क्षेत्रीय सभापति खड्क पोखरेल, जिल्ला सदस्यहरू निरञ्जन केसी, नारायण सापकोटा र रामबहादुर सिंहले पनि उम्मेदवारी घोषणा गरेका छन्। पौडेल समूहबाट भने, वर्तमान सभापति कमलराज रेग्मीले दोहोर्‍याउन चाहेका छन्।

कालिकोट :  यहाँ सिटौलासँग नजिक मानिने जिल्ला सभापति हर्षबहादुर बम दोहोरिन चाहेका छन्। देउवा समूहबाट महासमिति सदस्य हिक्मतबहादुर विष्ट र मोतीराज बम, जिल्ला सदस्य मनराज शाही र मीनबहादुर बोगटी पनि उम्मेदवारी दिने तयारीमा छन्।

जाजरकोट :  यहाँ पौडेल समूहका धेरै आकांक्षी देखिएका छन् सभापतिका पूर्वउम्मेदवार वेदराज सिंह पौडेल समूहबाट पुनः उम्मेदवार बन्न प्रयास गरिरहेका छन्। पौडेल समूहकै महासमिति सदस्य सनत कार्की, मुक्ति खत्री, क्षेत्रीय सभापति महेन्द्र शाहले पनि उम्मेदवारी दाबी गरेका छन्। देउवा समूहमा रहेका इलम शाही पनि उम्मेदवारी दिने तयारीमा छन्।

रुकुम पश्चिम : यहाँ वर्तमान सभापति प्रेमप्रकाश ओली नै नेतृत्वमा आउन चाहेका छन्। उनी पौडेल समूहका मानिन्छन्। देउवा समूहबाट नेविसंघका पूर्वकेन्द्रीय उपाध्यक्ष खड्क डाँगी र महासमिति सदस्य कृष्ण रोकाय पनि उम्मेदवार बन्ने तयारीमा छन्।

मुगु : यहाँ पौडेल समूहको धेरै नेताहरु आकांक्षी देखिएका छन्। वर्तमान सभापति खड्गबहादुर शाही दोहो¥याउने मनसायमा छन् भने पौडेल समूहकै उपसभापति खगेन्द्रबहादुर मल्ल र छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाही पनि दौडमा छन्। देउवासमूहनिकट पूर्वसभापति ऐनबहादुर शाहीले पनि उम्मेदवार बन्ने चर्चा छ।

डोल्पा :  यहाँ पौडेल समूहबाट वर्तमान सभापति अंगतकुमार बुढा पुनः उम्मेदवार बन्ने प्रयासमा छन्। अन्य आकांक्षी देउवा समूहका छन्। पूर्वसांसद दूधाकुमारी हमाल, जिल्ला उपसभापति नवराज शाही, सचिव जयनन्द्र उपाध्याय, पार्टीको त्रिपुरासुन्दरी नगर उपसभापति मोतिप्रसाद उपाध्याय, महासमिति सदस्य गौरीशंकर उपाध्याय, जिल्ला सदस्य बेगमसिंह ठकूले दाबी गरेका छन्।

हुम्ला : यहाँ वर्तमान सभापति ठानबहादुर रोकाया पुनःनेतृत्वमा आउन चाहेका छन्। उनी कोइराला परिवारसँग निकट मानिन्छन्। पौडेल समूहबाट पूर्वसहसचिव प्यारीलाल शाहीको पनि आकांक्षा देखिएको छ । यहाँ देउवा समूहमा रहेका वर्तमान सचिव मोहनविक्रम सिंह र जिल्ला सदस्य वसन्त रोकायाको पनि उम्मेदवारी चर्चामा छ ।

जुम्ला :  यहाँ पौडेल समहूका वर्तमान सभापति दीपबहादुर शाहीले दोहाेर्‍याउन चाहेका छन्। देउवा समूहका सभापतिका पूर्वउम्मेदवार खड्क सैंजुवाल र वर्तमान सचिव कर्णबहादुर शाही आकांक्षीमा छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *