मन्त्रालय भागबन्डामै सत्तारुढ गठबन्धनबीच मिलेन कुरा, मन्त्रिपरिषद् विस्तारमा झनै ढिलाइ

डिसी नेपाल
१५ भदौ २०७८ १३:१६
252
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा निकै सकस पर्ने देखिएको छ। सत्तारुढ गठबन्धनबीच कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति नजुटेपछि मन्त्रिपरिषद् विस्तार टाढिँदै गएको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका अध्यक्षहरूको बैठक विनानिष्कर्ष टुंगिएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपस्थित थिए।

गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल छ । सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटको विषयमा छलफल भए पनि कुनै ठोस निष्कर्ष भने निस्किएन।

प्रधानमन्त्री बनेको डेढ महिना बितिसक्दा पनि सत्तारुढ गठबन्धनका दलहरूभित्रको आन्तरिक किचलोका कारण देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।

प्रधानमन्त्री देउवाले १७ मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालेका छन्। गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.