सरकारको निर्देशन अवज्ञा गर्दै एनआरएनए, तोकिएकै मितिमा निर्वाचन गर्ने वक्तव्य (विज्ञप्तिसहित)

डिसी नेपाल
२ असोज २०७८ ९:५१

काठमाडौँ। नेपाल सरकारको निर्देशनलाई चुनौती दिँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय निर्वाचन समितिले तोकिएकै मितिमा निर्वाचन गर्ने घोषणा गरेको छ।

प्रतिनिधि छनौटसम्बन्धी विवादमा उजुरी परेपछि नेपाल सरकार परराष्ट्र मन्त्रालयले एक पत्र पठाउँदै निर्वाचनसम्बन्धी कुनै पनि काम अघि नबढाउन निर्देशन दिएको थियो।

तर, सरकारको निर्देशनको एकहप्ता पूरा नहुँदै एनआरएनएको निर्वाचनसमितिले एक विज्ञप्ति जारी गर्दै निर्वाचन तोकिएको समयमै हुने जनाएर सरकारसँग पौठेजोरी खेल्न खोजेको छ।

शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै समितिले परराष्ट्र मन्त्रालयबाट संघको अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचन संबन्धमा पठाएको पत्रको जवाफ संघको नेतृत्वले दिनासाथै निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गर्ने जनाएको हो। समितिले आगामी अक्टोबर २० तारिखमा चुनाव गर्ने तयारी भै रहेको पनि जनाएको छ।

संघद्वारा हालै प्रकाशित प्रारम्भिक मतदाता नामावलीमा व्यापक धाँधली गरिएको लिखित उजुरी परेपछि मन्त्रालयले एक छानबिन समिति गठन गरी संघको संस्थापन पक्ष र उजुरकर्ता दुवै पक्षसँग सोधपुछ गरिरहेको छ।

मन्त्रालयले सहसचिव भरतकुमार रेग्मीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ। सो समितिले छानविन सम्पन्न नहुन्जेलसम्मलाई निर्वाचनको काम रोग्न निर्देशन पनि जारी गरेको अवस्थामा छानविनको प्रक्रिया प्रारम्भमात्र भएको बेला एनआरएनए निर्वाचन समितिले काम अघि बढाउनुले सरकार र एनआरएनएबीच सिधा टकराव उत्पन्न हुने देखिएको छ।

मन्त्रालयको छानबिनको रिपोर्ट आउनुभन्दा पहिले र आइतबार संघका अध्यक्ष पन्तसंग मन्त्रालयले थप स्पष्टीकरण माग्ने तय गरिएको पूर्व सन्ध्यामा समितिले सूचना प्रकाशन गरी चुनावको मिति नै तोक्ने कामले समितिको नियतबारे शंका उब्जाएको छ।

यसअघि मतदाता नामावली उपलब्ध नगराएको भन्दै निर्वाचन समितिले संघका महासचिव हेम राज शर्मा र अन्य पदाधिकारीहरुलाई मौखिक तथा लिखित रुपमै ताकेता गरेको थियो। सबै एनसीसीहरूबाट १५ अगष्ट भित्रै नामावली माग गरेता पनि संघको केन्द्रीय सचिवालयले अहिलेसम्म मतदाता नामावली निर्वाचन समितिलाई बुझाएको छैन।

तर समितिले मतदाता नामावली पठाउन भैरहेको ढिलाइका सम्बन्धमा भने विज्ञप्तिमा केही उल्लेख गरेको छैन। न त मतदाता सूचीमै व्यापक हेरफेर गरिएको भन्ने उजुरीबारे केही बोलेको छ।

बरु निर्वाचन समितिले “निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको र हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको“ दावी गरेको छ। त्यस्तै संघको सदस्यता सूचना प्रणाली (एमआइएस सिस्टम) को विश्वसनीयताबारे नै गम्भीर प्रश्नहरु उठिरहेको बेला निर्वाचन समितिले   “आइटी विज्ञहरु सहितको उपसमिति बनाएर आवश्यक सरसल्लाह लिँदै आफ्नो तयारी र काम अगाडि बढाइराखेको“  दावी गरेको छ।

जापान, चिली, बेल्जियम, जर्मनीलगायतका मुलुकमा अनलाइन माध्यमद्वारा हालै गराइएको एनसीसी चुनावमा संघका महासचिव हेमराज शर्मा र सचिव गौरीराज जोशीको नियन्त्रण र निर्देशनमा रहेको संघको केन्द्रीय एमआइएस प्रणालीको व्यापक दुरुपयोग गरिएको उजुरी परराष्ट्र मन्त्रालयमा परेको छ।

एउटा स्वतन्त्र छानबिन समितिले जापानको चुनावमा ग्रुप इमेल प्रयोग गरी झन्डै ३,००० फर्जी मत खसालिएको रिपोर्ट सार्वजनिक गरिसकेको छ। उक्त धांधलीविरुद्ध नेपाल प्रहरीको साइबर क्राइम ब्युरोले अनुसन्धान गरिरहेको छ।

तर विवादास्पद एमआइएस प्रणालीको बचाउ गर्दै निर्वाचन समितिले मतदाताहरुका सेल्फी फोटो तथा वैध भिसा जनाउने कागजात माग गर्नुले संवेदनशील व्यक्तिगत सूचनाहरु दुरुपयोग हुन सक्ने आइटी विज्ञहरुले आशंका व्यक्त गरेका छन्।

“संस्थापन पक्षले संस्थागत रुपमा चुनावमा धाँधली गर्न कुनै कसर बाँकी नराखेको तर यो संस्थागत बदनियतको विरोधमा आवाज उठाउँदा निर्वाचन समितिले उल्टो उनीहरुको बचाउ गर्ने गरी चुनावको मिति सार्वजनिक गर्नु र सचिवालयले अहिलेसम्म गरेका विवादास्पद तथा गैरकानूनी कामको ढाकछोप गर्न खोज्नु दुर्भाग्यपूर्ण छ, “ संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले भने।

उनले समितिले आफ्नो विज्ञप्ति सच्याई परराष्ट्र मन्त्रालयको छानबिन समितिले रिपोर्ट नबुझाउँदासम्म कुनै पनि विवादास्पद सूचना ननिकाल्न आग्रह पनि गरे।

हेर्नुहोस् निर्वाचन समितिको विज्ञप्ति जस्ताको तस्तैः

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१ अक्टोबरमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन सम्पन्न गर्नका संघले अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा गत जुलाई देखि नै जुटिरहेको छ।

जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनहरुलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषदको अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको छ। निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ। हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको छ।

गैरआवासीय नेपाली संघको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ–भोटिङ्ग) हुँदा स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीहरुको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनौट भैसकेको छ। प्राविधिक लगायत अन्य विविध पूर्व तयारी भइसकेको छ।

अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरु (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नु पर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनु पर्ने हुन्छ। सबै मतदाताहरुलाई संघको एमआइएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न अनुरोध गरिएको छ। अहिले सोही अनुसार फोटो संकलनको काम जारी छ।

निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट बन्चित हुने अवस्था आउन सक्छ। यस तर्फ सबै मतदातालाई सजग रहन निर्वाचन समिति अनुरोध गर्दछ।

गैरआवासीय नेपालीको अवस्था प्रष्ट देखिनका लागि भिसा सहितको आइडि कार्ड पनि आवश्यक भएको हुनाले यदि सदस्यता बनि सकेपछि पछाडि नविकरण गरिएका भिसा तथा आइडि कार्ड भए membership@nrna=org मा पठाइ दिन हुन समेत सूचित गरिन्छ।

आसन्न निर्वाचन सम्पन्न गर्नका लागि यसअघि नै ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित समितिमा सदस्य सचिव भूषण घिमिरे (जापान) रहनुभएको छ।

निर्वाचन समितिका सदस्यहरुमा रामप्रताप थापा (जर्मनी), चिरञ्जिीवि ढकाल (यूके), डा. विष्णुमाया परियार (अमेरिका), डा. देवकाजी डंगोल (कतार), डा. गणेश गुरुङ्ग (नेपाल) हुनुहुन्छ।

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि समितिले आइटी विज्ञहरु सहितको उपसमिति बनाएर आवश्यक सरसल्लाह लिंदै आफ्नो तयारी र काम अगाडि बढाइराखेको छ।

निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेका समयमा संघको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले संघको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्ना साथ निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने छ र अन्य आवश्यक काम अघि बढाउने छ।

निर्वाचनका बाँकी आवश्यक प्रकृयाका लागि समयको अभाव नभएकाले निर्वाचन समिति तोकिएको समयमा निर्वाचन गराउन प्रतिबध्द रहेको विश्वास दिलाउँदछ। महाधिवेशन प्रतिनिधिहरुले आफ्नो मताधिकारलाई सुरक्षित राख्न तोकिएका मापदण्डहरुको पालना गर्दै आवश्यक सूचनाहरुका लागि निर्वाचन समिति, अन्तर्राष्ट्रिय समन्वय समितिको सचिवालय र आफ्नो देशको राष्ट्रिय समन्वय परिषदको इमेल र सूचनाहरु हेर्दै आवश्यक सहयोग गरिदिनुहुने विश्वास निर्वाचन समितिको छ।

 

निर्वाचन समिति, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद

१७ सेप्टेम्बर २०२१




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *