आज पनि संसदमा एमालेको अवरोध कायम रहने, बजेट पारित हुनेमा अन्यौल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ। नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले आफ्नो माग पूरा नभएसम्म बैठक अवरुद्ध नै हुने जानकारी दिए।
कार्यालय सचिव तामाङले आफ्नो पार्टी बजेट पास गराउने कुरामा गम्भिर भएको तर, सत्ता पक्षले नै बजेट पास नगर्ने सोच बनाएको आरोप लगाएका छन्। उनले भने, ‘हामी तयार छौं। सत्तापक्षले वार्ता गरौं भने हामीले नाइ भनेकै छैनौं। यो सरकारलाई देश चलाउनु नै छैन। प्रतिपक्षको मागप्रति अलिकति पनि गम्भिर नभएकाले हामीले निरन्तर बैठकमा माग उठान गर्नु परेको हो।’
बजेटका बारेमा सरकारसँग पर्याप्त समय भएको भन्दै तामाङले भने, ‘जेठमा बजेट आयो। साउनमा प्रतिनिधिसभा पुनस्र्थापना गराइयो। परमादेशबाट भए पनि प्रधानमन्त्री नियुक्त हुनुभयो। त्यसपछिको समयमा के हेरेर बसेको थियो सत्तापक्ष ?’
प्रतिपक्षी दललाई अवरोध ग¥यो भन्ने आरोपले मात्र देश नचल्ने तामाङको भनाइ छ। तामाङले भने, ‘हरेक समस्याको समाधान हुन्छ भने संसद अवरोधको पनि समाधान छ। सत्तापक्षले प्रतिपक्षलाई मिलाएर जानु पर्ने हैन, खै ? खालि प्रतिपक्षले चल्न दिएन भनेर आरोप लगाएरमात्र देश चल्छ।’
‘भदौको महिनाभरि सत्तापक्षलाई एमाले फुटाउन लाग्नु पर्ने भएकाले समय भएन होला,’ उनले भने, ‘साउनको महिना त पुरै समय थियो त। यदि सरकारले देश चलाउन चाहेको भए उ बेला नै बजेटका बारेमा छिनोफानो गथ्र्यो। देश चलाउनु नै छैन यो सरकारलाई।’
देश यतिबेला बजेट ‘होली डे’को अवस्थामा छ। गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशबाट ल्याएको बजेटले संसद संचालनको ६० दिने उमेरहद कटाएपछि देश बजेट ‘होलीडे’मा गएको हो।
आजको संसद बैठकबाट बजेट पारित नभए कर्मचारीलाई तलबसमेत दिन सक्ने अवस्था नहुने अर्थमन्त्रालयका पूर्वसचिव कृष्णहरि बास्कोटाको भनाइ छ। ‘यो अवस्थामा सरकार र प्रतिपक्षको महत्वपूर्ण भूमिका रहन्छ,’ उनले भने।
बास्कोटाका अनुसार अहिले सरकारको ढुकुटीमा पैसा भएर पनि खर्च गर्ने कानूनी आधार नभएको अवस्था छ। उनले भने, ‘बजेट नभएर देश संकटमा गएको होइन। यो अवस्थामा सरकारसँग खर्च गर्ने कानूनी आधारमात्र नभएर हो। यही अवस्था रह्यो भने देश नै ठप्प हुनसक्ने अवस्था नआउला भन्न सकिन्न।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निरन्तर अवरोधको प्रक्रियामा छ। गत भदौ २३ गतेदेखि संचालनमा आएको संसदको नवौँ अधिवेशन एमालेले लगातारअवरोध गरिरहेको छ।
सभामुखले पदीय मर्यादाविपरीत पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले संसद अवरोधलाई निरन्तरता दिएको हो। एमालेले कारवाही गरेका १४ जना सांसदलाइ पदमुक्त गरी उनीहरूकाे नाम सभामुखले सार्वजनिक नगरेर पार्टी फुटाउन भूमिका खेलेको एमालेको आरोप छ।
सत्तारुढ गठबन्धनको सरकारले भदौ ३० गतेपछि देश बजेट ‘होली डे’को अवस्थामा पुग्छ भन्ने थाहा पाउँदा पाउँदै पनि भदौ २९ गतेको प्रतिनिधिसभा बैठक असोज ४ (आज) मा बस्ने गरी स्थगित भएको थियो।
तर, सत्तापक्षले भने प्रतिपक्षी दलको अवरोधका कारण बजेट पास हुन नसकेर यस्तो अवस्था सृजना भएको बताएको छ।







डिसी नेपाल








Facebook Comment